कालीगण्डकी करिडोर अझै अवरुद्ध, सुक्खा पहिरोले जोखिम कायमै
गुल्मी, ७ असार – पछिल्ला दिनदेखि लगातार खसिरहेको सुक्खा पहिरोका कारण गुल्मीस्थित कालीगण्डकी करिडोरको हर्मीचौर–अर्बेनी खण्ड आज पनि पूर्ण रूपमा अवरुद्ध छ।
कालीगण्डकी गाउँपालिका–१ मा पर्ने सो खण्डमा पहिरो नरोकेपछि सडक सञ्चालनमा चुनौती थपिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो।
“सडक माथिबाट निरन्तर सुक्खा पहिरो झरिरहेको छ,” उहाँले भन्नुभयो, “सुरक्षाको दृष्टिले हामीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छौँ।” तत्काल सडक सुचारु हुने सम्भावना नरहेको प्रहरीले स्पष्ट पारेको छ।
यसैबीच, पहिरोले अवरुद्ध रिडी–बामीटक्सार सडक खण्ड भने आंशिक रूपमा सञ्चालनमा आएको छ। चन्द्रकोट गाउँपालिका–७ स्थित सिस्ने भीरमा खसेको पहिरोको केही भाग पन्छाइएपछि एकतर्फी रूपमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ।
सरकारी संयन्त्र पहिरो रोक्ने तथा सडक खुलाउने प्रयासमा खटिए पनि अविरल वर्षा र ढुसीपाङ पहिराले काममा अवरोध भइरहेको जनाइएको छ।

