प्रधानमन्त्री ओलीको निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश : ‘सामान्य कामका लागि धेरै प्रक्रिया देखाउने प्रवृत्ति अन्त्य होस्’

काठमाडौँ, २२ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा तत्काल परिवर्तन ल्याउनुपर्ने बताएका छन् । निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षाअनुसार निजामती सेवाले आफूलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

“निजामती सेवा सरकारलाई जनता समक्ष पुयाउने मुख्य जिम्मेवारी हो । सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ,” प्रधानमन्त्री ओलीले भनेका छन् । प्रधानमन्त्रीले नागरिकलाई झन्झट र दुःख दिने कार्य अस्वीकार्य हुने उल्लेख गर्दै सेवामुखी प्रशासन निर्माणमा जोड दिए ।

“नागरिक सेवा खोज्दै होइन, सेवाले नागरिक खोज्ने बेला आएको छ । टेबल–कुर्सीमै सीमित नभई प्रविधिमार्फत सेवा विस्तार गर्नुपर्ने बेला आएको छ,” उनले भने । निजामती सेवाप्रति जनविश्वास घट्दै गएको गुनासोबीच प्रधानमन्त्री ओलीले सुशासन, पारदर्शिता र जवाफदेहितामार्फत मात्र नागरिकको विश्वास जित्न सकिने धारणा राखे ।

उनले संसदमा पारित हुने क्रममा रहेको निजामती विधेयक कर्मचारी वर्गको उन्नयनसँगै संघीयताको कार्यान्वयनमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । “नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित सेवाहरूलाई पारदर्शी, जिम्मेवार र परिणाममुखी ढङ्गले प्रवाह गर्ने बेला आएको छ,” प्रधानमन्त्री ओलीले भने, “काम र जिम्मेवारी पन्छाउने होइन, मुलुकप्रति प्रतिबद्ध र नागरिकतर्फ संवेदनशील कर्मचारी चाहिन्छ ।”

प्रविधिमैत्री सुशासन अपरिहार्य भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले डिजिटल रुपान्तरण, ई–गभर्नेन्स, तथ्यांकमा आधारित नीति निर्माण र सहज अनलाइन सेवा प्रवाहमार्फत गुणस्तरीय सेवा उपलब्ध गराउन निजामती सेवाको प्रमुख दायित्व भएको स्मरण गराए । उनले नागरिक एपमार्फत सेवाहरू एकीकृत गर्ने सरकारको नीति कार्यान्वयनमा निजामती कर्मचारीलाई सक्रिय भूमिका खेल्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीलाई समृद्ध नेपाल, सुखी नेपालीको साझा यात्रामा सिर्जनशील र जिम्मेवार ढङ्गले योगदान दिन आह्वान गरेका छन् । उनले व्यावसायिक, पारदर्शी, नवप्रवर्तनशील र नागरिकमैत्री प्रशासन निर्माणका लागि सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ क्रियाशील हुन शुभकामना व्यक्त गरेका छन् ।

Facebook Comments Box