राज्य व्यवस्था समितिको सभापति चयन प्रक्रिया सुरु
काठमाडौँ, ९ भदौ
सङ्घीय संसद् सचिवालयले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
सचिवालयले जारी गरेको सूचनाअनुसार यही भदौ १० गते (मंगलबार) अपराह्न १ देखि ४ बजेसम्म समितिका सदस्यहरूले अर्को सदस्यको समर्थनसहित सभापतिका लागि प्रस्ताव दर्ता गर्न सक्नेछन्। सोही दिन अपराह्न ४:१५ बजेभित्र दर्ता भएका प्रस्तावहरूको सूची प्रकाशन गरिनेछ।
भदौ ११ गते (बुधबार) अपराह्न ३ बजे बस्ने समितिको बैठकमा प्रस्तावकले उम्मेदवार प्रस्तुत गर्ने र समर्थकले समर्थन जनाउने प्रक्रिया पूरा गरिनेछ। त्यसपछि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। प्रतिनिधिसभा सचिव हर्कराज राईका अनुसार प्रक्रिया त्यसैअनुसार अघि बढ्नेछ।
सङ्घीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी धारामा समितिको निर्णयभन्दा फरक व्यवस्था राखिएको भन्दै तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि नयाँ सभापति चयन प्रक्रिया सुरु भएको हो।

