आजदेखि सुरु भयो अधिकमास, असार १ गतेसम्म रहने
काठमाडौं, ३ जेठ – प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा आउने अधिकमास अर्थात् मलमास आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार अधिकमास आगामी असार १ गतेसम्म रहनेछ ।
ज्योतिषीय गणनाअनुसार सौर वर्ष र चान्द्र वर्षबीच समयको अन्तर मिलाउन निश्चित अवधिमा अधिकमास पर्ने गर्दछ । एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै सङ्क्रान्ति नपरेको महिनालाई अधिकमास वा मलमास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष तथा वास्तुविद् शिवप्रसाद पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार चान्द्र महिनामा दुई वटा सङ्क्रान्ति परे त्यसलाई क्षयमास भनिन्छ । ज्योतिषविद् भास्कराचार्यले आफ्नो ग्रन्थ ‘सिद्धान्त शिरोमणि’ मा अधिकमास र क्षयमासको स्पष्ट व्याख्या गर्नुभएको छ । क्षयमास भने विरलै पर्ने गर्दछ । यसअघि २०२० सालमा क्षयमास परेको थियो । कार्तिक, मङ्सिर र पुस महिनामा क्षयमास पर्ने सम्भावना रहने भए पनि माघ महिनामा भने अधिकमास र क्षयमास दुवै नपर्ने जनाइएको छ ।
धार्मिक मान्यताअनुसार सबै महिनाका आ–आफ्ना देवता हुने भए पनि मलमासको देवता नभएकाले यसलाई अशुभ मानिने गरिन्थ्यो । पछि भगवान् श्रीकृष्णले यस महिनालाई आफ्नै नामबाट ‘पुरुषोत्तम मास’ नाम दिएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।
अधिकमासमा के गर्ने, के नगर्ने ?
धर्मशास्त्रविद् तथा समितिका सदस्य प्राध्यापक डा. देवमणि भट्टराईका अनुसार अधिकमासमा नियमित पूजा, पाठ, जप, ध्यान तथा पहिल्यैदेखि गर्दै आएको व्रतलाई निरन्तरता दिन सकिन्छ । तर नयाँ व्रत सुरु गर्नु, विवाह, व्रतबन्ध, गृहप्रवेश, गृहनिर्माणजस्ता माङ्गलिक कार्य गर्नु उचित मानिँदैन । यस अवधिमा गर्भाधान नगर्ने धार्मिक परम्परा पनि रहेको उहाँले बताउनुभयो ।
आइतबारदेखि मच्छेनारायण मेला
अधिकमाससँगै कीर्तिपुर नजिक रहेको मच्छेनारायण मन्दिरमा आइतबारदेखि मेला सुरु हुँदैछ । रत्नपार्कबाट करिब आठ किलोमिटर दक्षिणपश्चिममा रहेको यस मन्दिरमा अधिकमासभर लाखौँ भक्तजन दर्शनका लागि आउने गर्दछन् ।चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीका अनुसार अधिकमास अवधिभर मच्छेनारायण मन्दिरमा भगवान् नारायणको विशेष पूजा तथा पुरुषोत्तम मास माहात्म्य वाचन गरिनेछ ।
धार्मिक ग्रन्थअनुसार यस महिनामा भगवान् विष्णुको पूजा–आराधना गरे पुण्य प्राप्त हुने तथा पाप नष्ट हुने विश्वास रहेको छ । मच्छेनारायण मन्दिरमा सुनको जलप लगाइएको गरुडद्वार तथा माछाको मुखबाट प्रकट भएको भगवान् विष्णुको मूर्ति रहेको छ । पुराणअनुसार भगवान् विष्णुले मत्स्य अवतार धारण गरी प्रलयकालमा वेदको रक्षा गर्नुभएको उल्लेख गरिएको छ ।
यसअघि २०८० साल साउन महिनामा अधिकमास परेको थियो । अधिकमासमा वैदिक सनातन धर्मावलम्बीहरूले घरघरमा पुरुषोत्तम मास माहात्म्य पाठ गर्ने तथा कथा श्रवण गर्ने परम्परा रहेको छ ।

