अकबरे खुर्सानी खेतीबाट करोडौंको आम्दानी

पाल्पा, ९ भदौ

पाल्पाको रिब्दीकोट गाउँपालिका–२ देउरालीकी सावित्रा पौडेल यस वर्ष मात्र अकबरे खुर्सानीबाट पाँच लाख रुपैयाँभन्दा बढी कमाउने योजनामा छिन्।

वन्यजन्तुले परम्परागत खेतीमा क्षति पुर्‍याएपछि उनले श्रीमान् सन्दीप पौडेलसँग मिलेर वैकल्पिक रूपमा अकबरे खेती सुरु गरेकी हुन्। भदौको पहिलो सातासम्ममै ३०० किलो खुर्सानी बिक्री गरेर ६६ हजार रुपैयाँ आर्जन गरिसकेकी सावित्राले अझै करिब साढे चार लाख रुपैयाँ बराबरको खुर्सानी फल्ने अनुमान गरेकी छन्।

यसै वडाका बाबुराम अधिकारीले पनि तीन वर्षदेखि अकबरे खेती गर्दै आएका छन्। भदौको सुरुवातमै उनले ८८ हजार रुपैयाँको चार क्विन्टल खुर्सानी बिक्री गरिसकेका छन्।

गत वर्ष पाँच लाख रुपैयाँ आम्दानी गरेका अधिकारी यस वर्ष अझ बढी कमाउने लक्ष्यमा छन्। उनका अनुसार विदेशमा वर्ष दिनको दुःख भन्दा गाउँमै बसेर अकबरे खेती गर्न सजिलो र फाइदाजनक छ।

त्यसैगरी सुनिल विकले पनि विगत तीन वर्षदेखि अकबरे खेती गर्दै आएका छन्। उनले गत वर्ष पाँच लाख बराबरको खुर्सानी बेचेका थिए भने यस वर्ष चार लाख आम्दानी गर्ने लक्ष्य लिएका छन्। अहिले सम्म मात्र दुई लाख रुपैयाँ बराबरको खुर्सानी बिक्री गरिसकेका छन्।

देउरालीका मात्रै ९७ कृषक अकबरे खेतीमा संलग्न छन्। साउन र भदौको पहिलो सातासम्ममा मात्र नौ लाख ८० हजार रुपैयाँभन्दा बढीको खुर्सानी बाहिर पठाइसकिएको छ। देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थामार्फत किसानको उत्पादन संकलन भई बजारसम्म पुर्‍याउने व्यवस्था गरिएको छ।

प्रमुख कृषि आधुनिकीकरण परियोजना (जोन)ले किसानलाई बीउ, प्लास्टिक टनेल, पाइप, पोखरी निर्माण, मल्चिङ र प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ। यसले उत्पादन वृद्धि हुनुका साथै बजार सुनिश्चित भएको किसानको अनुभव छ।

अहिले देउरालीमा मात्रै २०० रोपनी जमिनमा अकबरे खेती भइरहेको छ भने किसानले प्रतिकेजी २२० रुपैयाँमा सहकारीलाई बिक्री गर्दै आएका छन्।

वडाअध्यक्ष ओमप्रकाश पोखरेलका अनुसार यस वर्ष वडाले कृषि कार्यक्रममा नौ लाख रुपैयाँ विनियोजन गरेको छ। उनका अनुसार जोन र वडा कार्यालयबीच सहकार्य गरेर अझ प्रभावकारी कार्यक्रम अघि बढाइनेछ।

हाल रिब्दीकोट गाउँपालिकाका आठवटै वडामा करिब १५ सय किसान अकबरे खेतीतर्फ आकर्षित भएका छन्। गाउँपालिकाबाट मात्रै वार्षिक ६ देखि १० करोड रुपैयाँसम्म नगद आम्दानी हुने अनुमान छ।

स्थानीय किसान र प्राविधिकहरूका अनुसार अझ गुणस्तरीय बीउ, सिँचाइको सुविधा र प्राविधिक ज्ञान विस्तार भएमा अकबरे खेतीले आगामी वर्षहरूमा अझ ठूलो बजार ओगट्ने विश्वास गरिएको छ।

Facebook Comments Box