कोशी प्रदेश आमसञ्चार विधेयकविरुद्ध पत्रकार महासंघको चरणबद्ध आन्दोलन
विराटनगर, ९ भदौ
पत्रकार र सञ्चारमाध्यमलाई नियमन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को विरोधमा नेपाल पत्रकार महासंघले चरणबद्ध आन्दोलन सुरु गरेको छ।दण्ड–जरिवाना र प्रेस स्वतन्त्रताविरुद्धका प्रावधानसहित विधेयक पारित गर्ने तयारी भएपछि महासंघ कोशी प्रदेशले आज सोमबारदेखि आन्दोलन थालेको हो।
महासंघका अनुसार संविधानको मर्म र प्रेस स्वतन्त्रताको भावनाविपरीत रहेकोले आन्दोलन अपरिहार्य भएको हो। उक्त विधेयक २०८१ माघ १८ गते प्रदेशसभामा दर्ता भएको थियो। छलफलका क्रममा १३ वटा संशोधन प्रस्ताव दर्ता भएपछि न्याय, प्रशासन तथा विधायन समितिमा पठाइएको थियो। ‘मिनी संसद’ भनिने उक्त समितिले कारबाही र जरिवानासहितको प्रतिवेदन प्रदेशसभामा पेश गरिसकेको छ।
अब भदौ १३ गते बस्ने बैठकमा विधेयक छलफलमा आउने तयारी छ। पत्रकार महासंघ कोशी प्रदेशले भदौ १३ गतेसम्म विभिन्न चरणमा आन्दोलन गर्ने घोषणा गरेको छ।
आन्दोलनका कार्यक्रम
-
भदौ ९ (आज): सामाजिक सञ्जालमा प्रदेश सरकार र प्रदेशसभालाई खबरदारी गर्ने पोस्ट।
-
भदौ १०: मुख्यमन्त्री, विभागीय मन्त्री, संसदीय दलका नेता र प्रमुख सचेतकलाई भेटेर ध्यानाकर्षण।
-
भदौ ११: पत्रकारहरूले आफ्ना जिल्लाका प्रदेशसभा सदस्यलाई सन्देश पठाउने।
-
भदौ १२: मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना।
-
भदौ १३: विराटनगरको देवकोटा चोकमा दिउँसो १ बजे १ घण्टा धर्ना।
पत्रकार महासंघले विधेयक सच्याउन सरकारलाई चेतावनी दिँदै प्रेस स्वतन्त्रतामाथि अतिक्रमण गर्ने कुनै पनि कानुन स्वीकृत हुन नदिने अडान लिएको छ।

