सङ्घीय राजधानीबाहिर पहिलोपटक कोशी अस्पतालमा निःसन्तान क्लिनिक सञ्चालन
विराटनगर, ९ भदौ
सङ्घीय राजधानीबाहिर पहिलोपटक सरकारी अस्पतालमा निःसन्तान उपचार क्लिनिक सञ्चालनमा आएको छ। कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सुरु भएसँगै निःसन्तानपनको समस्याबाट पीडित दम्पतीलाई राहत पुगेको छ। अस्पतालका अनुसार दैनिक १० देखि १५ दम्पती उपचारका लागि क्लिनिक पुग्ने गरेका छन्।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाका अनुसार निजी क्लिनिकमा महँगो शुल्क तिर्न नसक्ने गरिब तथा विपन्न वर्गका लागि यो सेवा विशेष उपयोगी हुने अपेक्षा गरिएको छ। “सर्वसुलभ तरिकाले सेवा दिनेसोचका साथ क्लिनिक सुरु गरिएको हो,” उनले भनिन्, “तर अझै धेरैलाई यसबारे पर्याप्त जानकारी पुगेको छैन।”
स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा. अञ्जुदेव र स्त्रीरोग विशेषज्ञ डा. मधुमिता राणाले क्लिनिकमा परामर्श, प्रारम्भिक परीक्षणदेखि आइयुआईसम्मको सेवा दिइरहेका छन्। निजी अस्पतालभन्दा सस्तो शुल्क निर्धारण गरिएकोले मध्यम आयवर्गलाई समेत यसले राहत दिएको डा. अञ्जुदेवले बताए। उनका अनुसार आइयुआई सेवाको शुल्क करिब रु ६ हजार तोकिएको छ, जुन निजी अस्पतालमा प्रायः दोब्बर वा सोभन्दा बढी पर्छ।
अस्पतालले सुरु गरेको सेवा स्वास्थ्य बिमा योजनामार्फत पनि लिन सकिने व्यवस्था छ। “अधिकांश जाँच स्वास्थ्य बिमाबाट नै गर्न सकिन्छ,” डा. अञ्जुदेवले बताए, “यसले बिरामीलाई न्यून खर्चमै उपचार उपलब्ध गराउनेछ।” आवश्यकता अनुसार आगामी दिनमा इन–भिट्रो फर्टिलाइजेसन (आइभिएफ) सेवा पनि सुरु गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।
हाल आइयुआईबाट उपचार सम्भव नभएमा अन्य सरकारी अस्पतालमा रेफर गरिने व्यवस्था गरिएको छ। चिकित्सकका अनुसार नेपालमा करिब १० देखि १५ प्रतिशत दम्पती निःसन्तानपनको समस्याबाट प्रभावित छन्। महिलामा प्रजनन अङ्गसम्बन्धी रोग, हर्मोनल असन्तुलन वा अण्डा उत्पादनमा कमी प्रमुख कारण मानिन्छ भने पुरुषमा शुक्राणुको मात्रा, गति वा गुणस्तर कमी हुनु सामान्य कारण हो।
विश्व स्वास्थ्य सङ्गठनका तथ्याङ्कअनुसार निःसन्तानपनले विश्वभर करिब १५ प्रतिशत दम्पतीलाई असर गर्छ। कोशी अस्पतालले सुरु गरेको यो क्लिनिक उपचार मात्र नभई प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउने र मानसिक–भावनात्मक सहयोग दिने उद्देश्यसहित अघि बढाइएको छ।

