आज तीजको अघिल्लो दिन दर खाएर मनाइँदै
काठमाडौं, ९ भदौ — हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ। परिवार, इष्टमित्र र छिमेकी भेला भई विभिन्न परिकारसहित रमाइलो गर्ने चलन रहेको छ। दर खाएको भोलिपल्ट महिलाहरूले निराहार व्रत बस्ने परम्परा भएकाले पौष्टिक खानेकुरा खाएर शक्ति संकलन गर्ने परम्परा रहिआएको हो।
राजधानी काठमाडौंलगायतका शहरी क्षेत्रमा भने दर खाने र खुवाउने चलन एक महिना अघिदेखि नै सुरु हुने गरेको छ। संघ–संस्था र कार्यालयहरूले पनि तीज मिलन कार्यक्रम गर्दै आएका छन्। विश्वास अनुसार परापूर्वकालमा देवी पार्वतीले भगवान् शिवलाई स्वामी पाउने कामनासहित कठोर निराहार व्रत बसेकी थिइन्।
उनको कामना पूरा भएको स्मरणमा विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वर पाउने कामनासहित व्रत बस्ने परम्परा चलेको हो। तीजको दिन पशुपतिनाथसहित देशभरका शिवालयमा व्रतालुको घुइँचो लाग्ने गर्छ।पूजाआजा पछि तीजका गीत गाउने, नाच्ने र भेला भई उल्लासपूर्वक पर्व मनाउने परम्परा पनि छ।
तीजको चार दिनको विधि
-
पहिलो दिन (आज): दर खाने
-
दोस्रो दिन (भोलि): निराहार व्रत बस्दै भगवान् शिवको पूजाआराधना
-
तेस्रो दिन (बुधबार): गणेश चौथी पर्व
-
चौथो दिन (बिहीबार): अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर तीज समापन
तीज अघिल्लो दिन दर खाने परम्परासँगै आजदेखि देशभर तीजको रौनक सुरु भएको छ।

