आज ईद उल फित्र पर्व मनाइँदै
काठमाडौँ, ७ चैत – ईद उल फित्र आज देशभरका मुस्लिम समुदायले विशेष नमाज अदा गर्दै उल्लासपूर्वक मनाइरहेका छन्। अरबी पात्रो हिजरी संवत अनुसार नवौँ महिनाभर रोजा (व्रत) बसेपछि यो पर्व मनाउने गरिन्छ। एक महिनाको निराहार व्रतपछि आज बिहान मस्जिद तथा इदगाहमा विशेष नमाज अदा गरिएको छ।
काठमाडौँस्थित जामे मस्जिद घन्टाघर लगायत देशभरका मस्जिदमा नमाजपछि आपसमा शुभकामना आदान–प्रदान गर्ने, ठूलाबडाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने परम्परा रहेको छ। यस पर्वमा सेवई, खजुरजस्ता मिठा परिकार बनाएर आफन्तलाई खुवाउने चलन छ। साथै, दीन–दुःखी र गरिबलाई दान दिने विशेष महत्व रहेको छ।
इस्लाम धर्मग्रन्थ कुरान अनुसार आफ्नो आम्दानीको निश्चित अंश दान गर्ने प्रथालाई ‘जकात’ भनिन्छ भने ईदको अवसरमा दिइने दानलाई ‘सदकातुल फितर’ भनिन्छ। ईद उल फित्रले आपसी सद्भाव, सहयोग र सामाजिक एकताको सन्देश दिने पर्वका रूपमा मानिन्छ। यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

