५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना हालसम्म अलपत्र

कैलाली, ८ भदौ

५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना हालसम्म अलपत्र छ। आर्थिक वर्ष २०६२/६३ मा पक्की बाँध बने पनि २०६४ सालको बाढीले भत्काएपछि आयोजना रोकिएको हो। त्यसयता हरेक वर्ष बजेट विनियोजन भए पनि पानीको स्रोत सुनिश्चित नभएकाले रकम फ्रिज हुँदै आएको छ।

प्रदेश सरकारले क्रमशः २० लाख (२०७५/७६), ६ करोड (२०७९/८०), १२ करोड (२०८०/८१) र ५ करोड (२०८१/८२) विनियोजन गरे पनि खर्च हुन सकेको छैन। सिँचाइ डिभिजन कार्यालयका इञ्जिनियर टेकराज विनाडीका अनुसार पुनः डिपिआर आवश्यक भएकाले काम अघि बढ्न नसकेको हो। कार्यालयले ४४ करोड लागत अनुमान तयार गरी मन्त्रालयमा पेस गरे पनि मन्त्रालयले ३० करोड मात्र स्वीकृत गरेपछि ठेक्का प्रक्रिया रोकिएको जनाइएको छ।

स्थानीय किसानका अनुसार २०६४ सालपछि नहर प्रयोग हुन नसक्दा अकासे पानी र बोरिङमा निर्भर भएर खेती गर्नुपर्ने बाध्यता छ। आयोजनाबाट करिब ६ हजार किसान लाभान्वित हुँदै आएका थिए भने १,४०० हेक्टरमा सिँचाइ सुविधा पुगेको थियो। नयाँ प्रतिवेदनअनुसार योजना सम्पन्न भए १,८०० हेक्टर जमिनमा सिँचाइ पुग्नेछ।

यसैबीच, प्रदेशसभाअन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक समितिले गत हप्तामात्रै स्थलगत अनुगमन गरी सार्वजनिक सुनुवाइ गरेको थियो। तर किसानले लामो ढिलाइप्रति असन्तुष्टि जनाउँदै सुनुवाइ कार्यक्रम बहिष्कार गरेका थिए।

Facebook Comments Box