आज चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २ साउन – देशभर मनसुनी वायुको सक्रिय प्रभाव कायमै रहेको बेला मौसमविद्हरुले आज कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेको छ। त्यसको प्रभावस्वरूप दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने विभिन्न प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
चार प्रदेशका एकदुई स्थानमा भने भारी वर्षा हुनसक्ने महाशाखाको अनुमान छ। विशेषगरी कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका बस्ती तथा भू–भागहरू प्रभावित हुनसक्ने जोखिम औँल्याइएको छ। यसका साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातसमेत हुनसक्ने चेतावनी दिइएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानहरूमा हुरीको सम्भावना रहेको जनाइएको छ।
रातिपनि यस्तै अवस्था रहने देखिएको छ। महाशाखाले कोशी र मधेस प्रदेशका केही स्थान तथा पहाडी क्षेत्रमा रातिको समयमा पनि मेघगर्जनसहितको वर्षा हुने उल्लेख गरेको छ। महाशाखाले सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी र सावधानी अपनाउन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई आग्रह गरेको

