गाजनेमा सफल स्याउखेतीपछि कृषक उत्साहित
बेनी, ३१ साउन
म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणका लागि गरिएको स्याउखेतीले उत्पादन दिन थालेपछि स्थानीय कृषकहरू उत्साहमा छन् । करिब २,०५० मिटर उचाइमा अवस्थित गाजनेमा चार वर्षअघि रोपिएका १०० स्याउका बोटमध्ये अधिकांशले अहिले फल दिन थालेका छन् ।
गाउँका २४ घरधुरीमध्ये धेरैले पाँचदेखि १५ बोटसम्म रोपेका थिए । “परीक्षणका रूपमा सुरु गरेको स्याउखेती सफल भएको छ, अब यसलाई व्यावसायिक रूपमा विस्तार गर्ने तयारीमा छौँ,” स्थानीय नीलकण्ठ शर्माले भन्नुभयो । मुस्ताङबाट ल्याइएका गोल्डेन र रेड डेलिसियस प्रजातिका स्याउका बिरुवाले राम्रो उत्पादन दिन थालेका छन् ।
श्रमशक्तिको अभावले खेतीयोग्य जमिन बाँझिने समस्या बढिरहेका बेला नगदेबालीका रूपमा स्याउखेती विस्तार गर्ने योजनामा स्थानीय छन् । स्थानीय कृषक गङ्गादत्त पौडेलले पाँच बोट रोपेको बताउँदै भने, “बोटले फल दिन थालेको छ, स्याउ स्वादिलो छ । यस वर्ष तीन रोपनी जमिनमा स्याउखेती विस्तार गर्ने सोच बनाएको छु ।”
गाजनेमा यसअघि पनि २०४२ सालमा सामूहिक रूपमा स्याउखेती गरिएको थियो । तर, मलजल र स्याहारको अभावले खेती मासिएको थियो । चिसो हावापानी भएकाले यहाँ स्याउखेतीको सम्भावना उच्च रहेको प्राविधिकहरू बताउँछन् ।यसअघि म्याग्दीको गुर्जा र राम्चे क्षेत्रमा पनि परीक्षणका रूपमा स्याउखेती गरिएको छ । हिमपात हुने भू–भागमा स्याउखेती फस्टाउने कृषिविद्हरूको भनाइ छ ।

