१५ लाख २३ हजार बोरा रासायनिक मल नेपाल भित्रिँदै

काठमाडौँ, ३१ साउन : साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले भारतको कोलकत्ता बन्दरगाहमा भित्रिएको १५ लाख २३ हजार बोरा रासायनिक मल क्रमशः नेपालस्थित गोदाममा ल्याउने कार्य तीव्रगतिमा भइरहेको जनाएको छ । हालै कर्पाेरेशनले ४ लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डिएपी आयात गरेको हो ।

गोदाममा आइपुग्दै गरेका यी मल प्रदेश सरकारमार्फत पालिकामा कोटा अनुसार वितरण गर्ने प्रक्रिया सुरु भइसकेको कर्पाेरेशनले स्पष्ट पारेको छ ।  कर्पाेरेशनले शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “दर्ता भएका सबै मल डिलरहरूले आफ्नो पालिका र सम्बन्धित कार्यालयसँग समन्वय गरी प्राप्त कोटाअनुसार बिक्री वितरण गर्न अनुरोध गरिन्छ ।”

बजारमा मल अभाव भएको भन्ने समाचार र सामाजिक सञ्जालमा देखिएका विभिन्न पोष्टबारे कर्पाेरेशनले ध्यानाकर्षण भएको जनाउँदै, आवश्यक मल आपूर्ति नियमित हुने आश्वासन दिएको छ ।

Facebook Comments Box