सात वर्षदेखि अधूरै बृहत् लिफ्ट खानेपानी आयोजना

बागलुङ, ३० साउन

बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले अधूरो लिफ्ट आयोजना सञ्चालन गर्दै उपभोक्तालाई पानी वितरण गर्न मासिक झण्डै रु ५ लाख विद्युत् महसुल तिर्दै आएको छ। वार्षिक रु ६० लाख बराबरको यो खर्च छुट सुविधा पाउन सक्ने भए पनि आयोजना सम्पन्न नहुँदा समितिले त्यसको लाभ लिन सकेको छैन।

आयोजना सम्पन्न नभएकै कारण गण्डकी प्रदेशले दिने विद्युत् महसुल छुटमा सहभागी हुन नसक्दा लाखौँको आर्थिक क्षति भइरहेको समितिका कार्यबाहक अध्यक्ष हरिबहादुर जिसीले बताए। उनका अनुसार, निर्माण व्यवसायीले आयोजना पूरा गरेर हस्तान्तरण नगरेका कारण संघीय र प्रदेश सरकार दुवैबाट उपलब्ध छुटको सम्झौता गर्न पाइएन।

२०७५ असार ३१ गते दुई वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको बागलुङ नगर बृहत् खानेपानी लिफ्ट आयोजनाको अहिले ९५ प्रतिशत मात्र काम पूरा भएको छ। रु ३० करोड २६ लाख ५१ हजार लागतमा कन्काई जयमाता जेभीसँग ठेक्का सम्झौता भए पनि पछि लागत रु ४ करोडले बढाइएको थियो। तर निर्माण व्यवसायीले काम सम्पूर्ण रूपमा सम्पन्न नगरेका कारण समितिले अझै पुरानो संरचनामार्फत पानी आपूर्ति गर्न बाध्य भएको जिसीले बताए।

उनका अनुसार, “गण्डकी प्रदेशको कार्यविधिअनुसार विद्युत् महसुलमा २५ प्रतिशत छुट पाउन सकिन्थ्यो। मासिक रु ५ लाख महसुलमा छुट भए ठूलो राहत हुन्थ्यो। तर रातामाटामा निर्माण भएको सात लाख लिटर क्षमताको ट्याङ्कीमा अझै पानी पु¥याइएको छैन।” हाल अस्थायी रूपमा लिफ्टबाट पानी तानेर पुरानो ट्याङ्कीमार्फत वितरण भइरहेको छ।

गण्डकी प्रदेश सरकारले २०७९ मा ल्याएको ‘लिफ्ट खानेपानी आयोजना विद्युत् महसुल अनुदान कार्यविधि’ अनुसार यो आयोजना विद्युत् महसुल छुटको दायरामा पर्छ। वार्षिक रु ६० लाख विद्युत् महसुलमध्ये रु १५ लाख छुट पाउँदा समितिलाई प्रत्यक्ष राहत पुग्ने जिसीको भनाइ छ।

२०७८ जेठदेखि दुईवटा मोटरमार्फत काठेखोलाबाट पानी तानेर बागलुङ बजारमा वितरण भइरहेको छ। आयोजना अन्तिम चरणमा पुगे पनि लोकमार्गभन्दा माथि निर्माण गरिएका सात लाख लिटर क्षमताका दुई नयाँ ट्याङ्कीमा पानी खसाल्ने र गौडाकोट तथा रमेटार क्षेत्रमा वितरण गर्ने काम अझै बाँकी छ।

निर्माण व्यवसायी कृष्णहरि चौलागाईंले आयोजना सम्पन्नमा ढिलाइ भएको स्वीकार गर्दै भौगोलिक कमजोरी, पहिरो नियन्त्रणमा ढिलाइ, कोभिड–१९ को असर, आर्थिक सङ्कट तथा पाइपलाइन डिजाइनमा आएको समस्या जस्ता कारणले परियोजना रोकिएको बताए। यो लिफ्ट आयोजना बागलुङ बजारमुनिको काठेखोलाबाट पानी लिफ्टमार्फत रातामाटामा पुर्याई शुद्धीकरण गरी वितरण गर्ने उद्देश्यले निर्माण गरिएको हो।

Facebook Comments Box