मनसुन क्रमशः कमजोर हुँदै
काठमाडौँ, ३० साउन
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ सरिसकेको छ, जसका कारण देशभर मनसुन क्रमशः कमजोर हुँदै गएको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। सुदूरपश्चिमका साथै पहाडी क्षेत्रका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी प्रदेशलगायत पहाडी भूभागमा सामान्य बदली, अन्य क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। गण्डकीका पहाडी तथा तराई क्षेत्र, वाग्मती, लुम्बिनी र कर्णालीका पहाडी भागका केही स्थानमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहने, ठूला–साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात अवरुद्ध हुनसक्ने चेतावनी दिँदै सर्वसाधारणलाई सतर्क रहन र पूर्वतयारी गर्न आग्रह गरेको छ।

