भोजपुरमा उद्योग दर्ता घट्दो, खारेजी बढ्दो

भोजपुर, ३० साउन — भोजपुरमा घरेलु तथा साना उद्योग दर्ता वर्षैपिच्छे घट्दै गएको छ भने खारेजीको दर बढ्दो क्रममा छ। घरेलु उद्योग कार्यालयका तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा ५९१ वटा उद्योग दर्ता भए पनि २०८१/८२ मा मात्र ११० उद्योग दर्ता भएका छन्।

पछिल्ला वर्षको दर्ता तथ्यांकः

  • २०७७/७८ — ५९१ उद्योग

  • २०७८/७९ — ४०४ उद्योग

  • २०७९/८० — २६४ उद्योग

  • २०८०/८१ — १३३ उद्योग

  • २०८१/८२ — ११० उद्योग

यसै अवधिमा उद्योग खारेजी पनि बढेको छ। गत आवमा मात्र ८९ उद्योग र २३ वाणिज्य फर्म गरी ११२ खारेजी भएका छन्। निमित्त प्रमुख रमेश ढकालका अनुसार दर्ता हुनेभन्दा खारेज हुने संख्या बढी हुन थालेको छ। हाल भोजपुरमा उद्योगतर्फ ३,६६३ र वाणिज्यतर्फ १,०८३ गरी कुल ४,७४६ उद्योग तथा फर्म दर्ता छन्, जसको करिब आधा निष्क्रिय अवस्थामा रहेको कार्यालयले जनाएको छ।

कार्यालयले उद्योग प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। गत आवमा मात्र उद्यमीलाई मागका आधारमा ९१ प्रविधि हस्तान्तरण गरिएको थियो। लघु, घरेलु तथा साना उद्योगमार्फत स्थानीय कच्चा पदार्थ, स्रोत र श्रमको उपयोग गर्दै स्वरोजगार र रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ।

Facebook Comments Box