च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण

भोजपुर, २८ साउन

भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित ऐतिहासिक च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण कार्य सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गाउँपालिकाबीचको लागत साझेदारीमा कुल दुई करोड १३ लाख रुपैयाँमा संरक्षण योजना कार्यान्वयन गरिएको हो। यसमध्ये ७० प्रतिशत रकम मन्त्रालय र ३० प्रतिशत रकम गाउँपालिकाले व्यहोरेका छन्।

गाउँपालिकाले पोखरी तथा मन्दिर वरपर रहेका बस्ती हटाउँदै घेराबार, फूल रोप्ने टनेल, टायलयुक्त फुटपाथ निर्माण र वरिपरिको सरसफाइ तथा सौन्दर्यीकरण कार्य सम्पन्न गरेको जनाएको छ। संरक्षणका लागि दुई घर र तीन कित्ता जग्गा मुआब्जा दिएर अधिग्रहण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए।

हाल पोखरी नजिकै विश्रामस्थल तथा बालबालिका र ज्येष्ठ नागरिकका लागि पार्क निर्माण भइरहेको छ। पोखरीको थप विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको र मौलिक स्वरूप जोगाउँदै संरक्षण गरिने गाउँपालिका अध्यक्ष किरण राईले बताए। “गाउँपालिकाका धार्मिक तथा पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासका लागि हामी सक्रिय छौँ,” अध्यक्ष राईको भनाइ छ।

स्थानीय नीरबहादुर फुयालका अनुसार विगतमा च्याङ्ग्रा चरनका लागि आउने र पोखरीको पानी पिउने चलनकै कारण यसलाई ‘च्याङ्ग्रे पोखरी’ नाम दिइएको हो। पोखरीकै छेउमा रहेको पञ्चकन्या मन्दिरमा वर्षभर भक्तजनको आगमन भइरहन्छ। यही पोखरीको नामबाट आसपासको बस्ती ‘च्याङ्ग्रे बजार’ नामले परिचित भएको स्थानीयले बताएका छन्।

Facebook Comments Box