धार्मिक सहिष्णुताका लागि लामा, बज्राचार्य र ब्राह्मण गुरूबाट महाङ्कालको पूजाअर्चना
काठमाडौँ, २८ साउन
धार्मिक सहिष्णुताको सन्देश फैलाउने उद्देश्यले श्री बौद्धनाथ क्षेत्र विकास समितिले लामा, बज्राचार्य र ब्राह्मण गुरूको संयुक्त पूजाअर्चना गर्दै ऐतिहासिक बौद्ध महाङ्काल जात्रा सम्पन्न गरेको छ। समितिद्वारा आयोजना गरिएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईले उपस्थित रही तीन धार्मिक परम्पराका गुरूहरूबाट सम्पन्न पूजापद्धतिको अवलोकन गरेका थिए।
उनीहरूले महाङ्कालको पूजा गर्दै प्रसाद ग्रहण गरे र समितिले धार्मिक सहिष्णुता मजबुत बनाउन गरेको प्रयासको प्रशंसा गरे। महाङ्कालको पूजाअर्चनामा हिन्दू र बौद्ध दुवै धर्मका अनुयायीहरूले आ–आफ्नो विधिअनुसार समान रूपले सहभागिता जनाए। मङ्गलबार बौद्ध महाङ्काल चौर प्राङ्गणमा यज्ञ मण्डप स्थापना गरी तीन परम्पराका गुरूहरूबाट एकैसाथ पूजा सम्पन्न भएको दृश्य आकर्षक बनेको थियो।
समितिका कार्यकारी निर्देशक मोहनकुमार लामाका अनुसार हिन्दू र बौद्ध दुवै समुदायमा महाङ्कालप्रति गहिरो आस्था रहेकोले धार्मिक सहिष्णुता सधैं कायम रहोस् भन्ने कामनाका साथ यो संयुक्त पूजा आयोजना गरिएको हो। पूजापछि प्रसाद वितरणसँगै ऐतिहासिक महाङ्काल जात्रा औपचारिक रूपमा सुरू गरिएको थियो।

