उपचारका क्रममा कैदीको मृत्य भएपछि छानबिन समिति गठन

पर्सा, २८ साउन

नारायणी अस्पतालमा उपचारका क्रममा मंगलबार कैदीबन्दी राहुल साह तुरहाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले घटनाको छानबिनका लागि समिति गठन गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी सात सदस्यीय समिति बनाउने निर्णय गरेको हो।

समितिको संयोजकमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मी छन्। सदस्यमा पर्सा प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक किशोर लम्साल, जनप्रतिनिधि जनदिश साह तुरहा, मृतकका दाजु मकेश साह तुरहा, मानवअधिकारकर्मी मनकुमारी लामा, नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल र नेपाल चिकित्सक सङ्घका प्रतिनिधि रहेका छन्।

बैठकले मृतकको शव परीक्षण र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ। वीरगञ्ज कारागारका प्रमुख खिमराज भुसालका अनुसार कर्तव्यज्यान मुद्दामा कैद भुक्तान गरिरहेका साहलाई मंगलबार बिहान छाती दुख्ने र सुन्निने समस्या देखिएपछि नारायणी अस्पतालमा पुर्‍याइएको थियो। तर, आफन्तहरूले भने पर्साका प्रमुख जिल्ला अधिकारीले बिरामीलाई अन्य अस्पतालमा रेफर गर्न अनुमति नदिएको आरोप लगाएका छन्।

मृत्युपछि आक्रोशित आफन्तहरूले नारायणी अस्पताल वरपर टायर बालेर विरोध प्रदर्शन गरेका थिए। पर्सा प्रहरीका सूचना अधिकारी लम्सालका अनुसार भिड नियन्त्रणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ। साह विसं २०७९ देखि कर्तव्यज्यान मुद्दामा कैद सजाय भुक्तान गर्दै आएका थिए।

Facebook Comments Box