पर्सा जिल्ला अदालतमा उत्कृष्ट मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश घिमिरे सम्मानित

वीरगञ्ज, २६ साउन

पर्सा जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा कूल १२ हजार ६३५ मुद्दामध्ये ७ हजार २४४ मुद्दा फछ्र्यौट गर्दै ५७.३३ प्रतिशत सफलता हासिल गरेको छ। यो अघिल्लो आवको ५७ प्रतिशतभन्दा केही बढी हो। अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेले गत आवभरमा सबैभन्दा धेरै ९८३ मुद्दा फछ्र्यौट गरेका छन्। उहाँलाई आइतबार विशेष कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको हो। दोस्रो स्थानमा न्यायाधीश दीपक खनाल ९३९ मुद्दा फछ्र्यौट गर्दै रहनुभयो।

जिल्ला अदालतमा ११ जना न्यायाधीश कार्यरत छन्। अन्य न्यायाधीशहरूको फछ्र्यौट विवरण यसप्रकार छ— नन्दकिशोरप्रसाद यादव (७६२), आनन्दप्रसाद श्रेष्ठ (६३०), प्रमेश पोखरेल (६०५), उत्तम सिलवाल (६२४, काठमाडौँ र पर्सा गरी), उपेन्द्रकेशर खनाल (६५७, सिरहा र पर्सा गरी), मोहन सुवेदी (५८४), मुकुन्द आचार्य (५३८), कमलकान्त जोशी (५६६) र रुद्रप्रसाद सुवेदी (५०१)।

अघिल्लो आवबाट सरेका ६,०९२ मुद्दा र नयाँ दर्ता भएका ६,५४३ मुद्दा समेटेर यो प्रगति हासिल गरिएको हो। अदालतले चालु आवमा करिब १३ हजार ४६८ मुद्दा दर्ता हुने अनुमान गर्दै त्यसको ६६ प्रतिशत अर्थात ८,८३७ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेको छ।

गत आवमा अदालतले ९५६ वर्ष ३ महिना १ दिन कैदबराबरको जरिवाना फछ्र्यौट गरेको छ। जबकी गत आवसम्म कैदको कुल लगत ३,५५८ वर्ष ११ महिना ६ दिन रहेको थियो।न्यायाधीश खनालका अनुसार मुद्दा फछ्र्यौटमा अदालत मात्र होइन, सरोकारवाला सबै पक्षको सक्रिय भूमिका महत्वपूर्ण रहन्छ। अदालतले न्याय सम्पादन गर्दा प्रक्रिया र कार्यविधिलाई नै आधार मान्ने उनले स्पष्ट पारे।

Facebook Comments Box