पहिरोले मोदी गाउँपालिका कोरुङ्गा गाउँ जोखिममा

पर्वत, २६ साउन

लगातारको वर्षाका कारण पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरस्थित कोरुङ्गा गाउँ पहिरोको जोखिममा परेको छ। यहाँबाट झर्ने पहिरोको क्रम नरोकिँदा सिङ्गो गाउँ नै जोखिममा परेको हो। करिव आधादर्जन घरपरिवारको बसोबास रहेको यस गाउँमा हाल पाँच घरपरिवार उच्च जोखिममा परेका छन्।

पहिरोले स्थानीय टीकाराम जैसीको घर भत्किसकेको छ भने कुमार केसीको घर पनि जोखिममा छ। घर भत्किएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सरसामान सुरक्षित ठाउँमा सारिएको छ र बस्नका लागि अस्थायी टहरा निर्माण गरिएको छ। पहिरो रोकथाम नहुँदा स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य छन् भने जोखिम बढ्दै गएको स्थानीय बाबुराम जैसीले जानकारी दिनुभयो।

कोरुङ्गा पहिरो करिब एक दशकअघिदेखि शुरु भएको हो। गत वर्ष पहिरोका कारण गाउँपालिकाको केन्द्रदेखि वडा नं १, २, ३ र ४ जोड्ने मुख्य सडक तीन महिना पूर्णरुपमा अवरुद्ध भएको थियो। पातीचौर–देउपुर–लप्सीबोट सडकको कोरुङ्गा खण्डको लगभग दुई किलोमिटर भाग क्षतिग्रस्त छ र यस वर्ष पनि सडक पूर्णरुपमा अवरुद्ध रहेको छ।

सडक अवरुद्ध भएपछि स्थानीयवासी आवतजावतमा समस्या भोगिरहेका छन्। वैकल्पिक सडकहरू मर्मत नहुँदा समस्या थपिएको छ। बेतेनी गौँडा टापु सडक पनि स्तरोन्नति नहुँदा सञ्चालनमा कठिनाइ आएको स्थानीय शिक्षक भूमिराज शर्माले बताए। नयाँपुल मख ठूली पोखरी सडक पनि पहिरोका कारण क्षतिग्रस्त भएको छ।

स्थानीयहरू भन्छन् कि वातावरणीय र भौगोलिक अवस्थालाई ध्यान नदिई अव्यवस्थित रूपमा गरिएको सडक निर्माण, राम्रो ढल निकास नहुँदा सडकहरू छिट्टै क्षतिग्रस्त हुन्छन्। वर्षाका समयमा हुने निर्माण कार्यले पनि समस्यामा वृद्धि गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ।

Facebook Comments Box