संयुक्त सरकारले विकासको लहर ल्याएको छ : प्रधानमन्त्री ओली

जलेश्वर, ९ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संयुक्त सरकारले मुलुकमा विकासको लहर ल्याएको दाबी गरेका छन्। महोत्तरीको मटिहानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस, नेकपा (एमाले), लोसपा, जनमत पार्टी लगायतका दलहरू सम्मिलित सरकार स्पष्ट नीति, योजना र द्रुत कार्यान्वयनमार्फत मुलुकभर विकास निर्माणमा जुटेको बताए।

“तराई–मधेसदेखि हिमालसम्मको समावेशी विकास हाम्रो लक्ष्य हो,” प्रधानमन्त्री ओलीले भने, “शिक्षा, स्वास्थ्य, सडक लगायतका जनसरोकारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भइरहेको छ।”

राजनीतिक स्थायित्व र सुशासनका लागि निर्माण गरिएको यो गठबन्धन सरकारले आम जनताको अपेक्षा अनुरूप काम गरिरहेको बताउँदै उनले आगामी निर्वाचनसम्म यस्तै प्रकृतिको सरकार अपरिहार्य रहेको स्पष्ट पारे।

कार्यक्रमका क्रममा विग्ही नदीमा निर्माण सम्पन्न पुलको उद्घाटन गर्दै उनले यसले मटिहानी क्षेत्रलाई जनकपुरसहित अन्य भौगोलिक क्षेत्रसँग जोड्ने र स्थानीय व्यापार, उद्योग, शिक्षा तथा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

सोही कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुर, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल लगायतले मधेस प्रदेशमा रहेको खानेपानी अभाव दीर्घकालीन रूपमा समाधान गर्न सबै तहका सरकार,

राजनीतिक दल, नागरिक समाज र स्थानीयवासीको संयुक्त पहल आवश्यक रहेकोमा जोड दिए। नेताहरूले समग्र मधेसको विकासका लागि आ–आफ्नो तहबाट सक्दो योगदान पुर्‍याउने प्रतिबद्धता पनि जनाए।

Facebook Comments Box