मानव अंग तस्करी प्रकरण : थप दुई जना पक्राउ, संगठित अपराधअन्तर्गत अनुसन्धान

काठमाडौँ, २२ साउन

नेपाली युवालाई भारत लगेर मिर्गौला निकालिएको गम्भीर मानव अंग तस्करी प्रकरणमा संलग्न थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी २४ वर्षीय समिर नेपाली र ४७ वर्षीय राकेश नेपाली रहेका छन्।

यसअघि काभ्रेको पाँचखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार, जो राजकुमार परियारको नामले चिनिन्छन्, यसै प्रकरणमा प्रहरीले पक्राउ गरिसकेको थियो।

सिन्धुलीका युवकलाई मासिक तलबको प्रलोभन देखाई भारत पुर्‍याइयो

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार सिन्धुलीका एक युवालाई मासिक भारतीय रुपैयाँ १० देखि २० हजारसम्म कमाइ हुने प्रलोभन देखाई भारत पुर्‍याइएको थियो।

२०८२ साल जेठ महिनामा ती युवकलाई कोठेश्वरबाट कलंकी हुँदै बुटवल, भैरहवा र सुनौली नाका पार गरेर भारत पुर्‍याइएको थियो। पहिला ती पीडितले आफू पोखरामा काम गर्दै गर्दा भारत पुर्‍याइएको बताएका थिए।

तर, प्रहरीलाई दिएको पछिल्लो बयानमा उनले योजना अनुसार काठमाडौंको कलंकी हुँदै भारत लैजिएको स्पष्ट पारेका छन्।

संगठित मानव अंग तस्करीको संलग्नता प्रमाणित

प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार, पक्राउ परेका व्यक्तिहरूले योजनाबद्ध रूपमा मानव अंग तस्करीको अपराधमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।

“यो समूहले संगठित अपराधका रूपमा मिर्गौला तस्करी गरेको प्रमाण भेटिएकाले अब संगठित अपराधसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाइएको छ,” एसपी कुँवरले बताए।

मानव अंग तस्करीसम्बन्धी यो घटना संगठित र गम्भीर अपराधको रूपमा लिइएको छ, र अनुसन्धान अझ विस्तारमा गरिने प्रहरीले जनाएको छ।

Facebook Comments Box