भूकम्पको दस वर्षपछि पनि पाल र टेकोमा अडिएको कुमारी घर

काठमाडौँ, २३ साउन

विश्व सम्पदा सूचीमा पर्ने हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर भूकम्पको दशकपछि पनि पाल र टेकोको भरमा अडिएको छ। यस वर्षको वर्षा सुरु भएपछि घरभित्र पानी पस्यो, जसका कारण पुरातत्व विभागले छानोमा त्रिपाल ओढेर अस्थायी ओत दिएको हो। विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार गत आर्थिक वर्षमै पानी चुहिन थाले पनि बजेट अभावले मर्मत हुन सकेन र अर्को वर्ष बजेट राख्ने योजना छ।

स्थानीयवासी र इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीले भूकम्पपछि पुनर्निर्माणमा कुनै प्रगति नभएको गुनासो गरेका छन्। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले निरीक्षणपछि पुनर्निर्माण सूचीमा राख्न निर्देशन दिए पनि कार्यान्वयन भएको छैन।

गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले अलग–अलग प्राविधिक अध्ययन गरे पनि काम सुरु भएको छैन। पश्चिमी भाग अत्यन्त जीर्ण भएकाले तालाबन्दी गरिएको छ भने वसन्तपुर डबलीतर्फको भाग बाहिरबाट टेको लगाएर अड्याइएको छ।

कुमारी घर पुनर्निर्माणका लागि महानगरपालिकाले पटक–पटक बजेट (रु ५० लाख र रु १ करोड) विनियोजन गरे पनि अनुमानित लागत करिब रु ३ करोड भएकाले काम अघि बढ्न सकेको छैन। दरबार संरक्षण कार्यक्रमका अनुसार आवश्यक रकम एकैपटक जुटाउन नसक्दा ढिलाइ भएको हो।

कुमारीलाई वर्षमा १३ पटक विभिन्न सांस्कृतिक कार्यक्रमका लागि घरबाट बाहिर निकालिन्छ। इन्द्रजात्रा, बडादसैँ, रामनवमी, सेतो मच्छेन्द्रनाथको रथयात्रा, गाईजात्रा, पचलीभैरव जात्रा र घोडेजात्रा  प्रमुख हुन्।

Facebook Comments Box