म्याग्दीमा मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, १९ साउन – कालीगण्डकी नदीमा पहिलोपटक जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका हुँदै बग्ने नदीमा ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गरिएको हो।

आयोजनाको निर्माण हाइड्रो सपोर्ट कम्पनीले गरिरहेको छ भने सिभिल ठेक्का रसुवा–मल्टी जेभीले पाएको छ। अन्नपूर्ण–२ नागढङ्गामा ४,३१९ मिटर लामो सुरुङ निर्माणका लागि गत हप्ता विस्फोटक पदार्थ प्रयोग गरी काम थालिएको हो। सुरुङको अडिट दूरी ४५९ मिटर रहेको बताइएको छ।

अन्नपूर्ण–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध निर्माण गरी १५१ मिटर उचाइबाट नौनीबगरस्थित भूमिगत विद्युत्गृहमा पानी झारेर उत्पादन गरिनेछ। आयोजना रन-अफ-रिभर प्रकृतिको हो र विद्युत्गृह, कन्ट्रोल रुम तथा स्विचयार्ड जमिनभित्र हुनेछन्।

सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोबोटिक सटकिटसहित उपकरण प्रयोग भइरहेको छ। निर्माण सम्पन्न भएपछि नौनीबगरबाट करिब सात किलोमिटर माथि दानास्थित २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रीय प्रसारण प्रणालीमा विद्युत् जोडिनेछ।

कुल लागत करिब १२ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। नविल बैंकको नेतृत्वमा छ वाणिज्य बैंकले ७५ प्रतिशत ऋण, बाँकी २५ प्रतिशत लगानी प्रवर्द्धक र शेयरमार्फत जुटाइनेछ।

नेपाल विद्युत् प्राधिकरणसँग भएको सम्झौताअनुसार हिउँदमा प्रति युनिट विद्युत् खरिद दर रु ८.४० र वर्षायाममा रु ४.८० कायम भएको छ। उत्पादनबाट हिउँदमा १३० गिगावाट विद्युत् बिक्री गरेर करिब रु १ अर्ब ९ करोड र वर्षायाममा २७७ गिगावाट उत्पादनबाट रु १ अर्ब ३३ करोड आम्दानी हुने अनुमान छ।

कालीगण्डकी नदी बेसिनमा यसबाहेक ६५ मेगावाटको माथिल्लो कालीगण्डकी र १८० मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको पनि निर्माण तयारी भइरहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो।

Facebook Comments Box