प्रतिनिधिसभाको बैठक आज बस्दै, चार एजेन्डा तय
काठमाडौँ, १९ साउन – सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देशको जानकारी गराइनेछ।
साथै, लेखा समिति सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२ मा समावेश सुझावलाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै, युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता अनुमोदन गर्न संसद् समक्ष प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।

