गुल्मीका तीन मुख्य सडक अवरुद्ध, बाढीपहिरोको जोखिम उच्च

गुल्मी, १९ साउन — लगातारको वर्षाले गुल्मीका तीन प्रमुख सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्। आइतबार रातिदेखि अवरुद्ध भएका कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक अझै सञ्चालनमा आउन सकेका छैनन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार कालीगण्डकी गाउँपालिका–१ गरगरे, वडा नं २ को मिल्क र वडा नं ३ स्थित कनौटामा चट्टानसहितको ठूलो पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

त्यस्तै, रिडी–तम्घास सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ को सल्लेरीमा पहिरो खसेपछि उक्त सडकसमेत अवरुद्ध भएको छ। त्यसैगरी, रिडी–वामीटक्सार सडक अन्तर्गत सत्यवती गाउँपालिका–६ को डहरे खोला र वडा नं ५ को बादरेभीरमा बाढी र पहिरोले सडक थुनिएको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण अहिले पनि पहिरो पन्छाउने काममा कठिनाइ भएको र वर्षा नरोकिएसम्म सडक खुल्ने सम्भावना नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक पटकपटक बन्द हुने गरेकाले त्यस क्षेत्रका बासिन्दा निरन्तर समस्यामा परेका छन्।

बडिगाड खोलाको जलसतह बढ्दो रहेको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बसोबास गर्न अनुरोध गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार, गुल्मीका करिब २०० भन्दा बढी स्थान बाढी र पहिरोको उच्च जोखिममा रहेका छन्।

Facebook Comments Box