“दलको नेताबाट हटे पनि राजीनामा दिन्नँ” – मुख्यमन्त्री लामा
बागमती, १३ साउन – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफू संसदीय दलको नेताबाट हटिए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्।
कांग्रेस संसदीय दलको बैठकमा आफूविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री लामाले संसदीय दलको नेता र मुख्यमन्त्री दुई फरक संरचना भएको तर्क गरे।
“संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने बाध्यता छैन,” उहाँले भन्नुभयो, “सरकार एउटा पाटो हो, संसदीय दल अर्काे पाटो हो। मुख्यमन्त्री हुन दलको नेता हुनैपर्छ भन्ने पनि होइन।”
उहाँले दलको नेता पद रिक्त भइसकेको र अब नयाँ नेताको चयन प्रक्रिया अघि बढ्ने जानकारीसमेत दिनुभयो।
प्रदेश सरकारभित्रको आन्तरिक शक्ति सन्तुलनमा चर्किएको विवाद र एकपछि अर्को राजीनामासँगै बागमतीमा राजनीतिक अन्योल झनै गहिरिँदै गएको छ।

