पुलिसले जित्यो जय ट्रफीको उपाधि
काठमाडौँ, ३ माघ – विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जतेको छ ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।
पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा २९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो । आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११÷११ रन बनाए ।
त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिसका सागर ढकालले छ तथा ललित राजवंशीले चार विकेट लिए । दोस्रो इनिङमा पुलिस एक सय ३९ रनमा अलआउट भएपछि आर्मीले एक सय तीन रनको लक्ष्य पाएको थियो ।
नौ विकेटको क्षतिमा एक सय ३२ रनबाट पुलिसले तेस्रो दिनको खेल सुरु गरेको थियो । थप सात रन जोड्दा अन्तिम विकेट गुमाएपछि दोस्रो इनिङमा पुलिसले एकसय दुई रनको अग्रता बनायो । अन्तिम विकेटका रुपमा बसिर अहमदले ललितलाई आउट गरे ।
सागर ढकाल छ रनमा नटआउट रहे । पुलिसका लागि ओपनर कुशल भुर्तेलले ४५, दिलीप नाथ ३४, राशिद खान १८, ओपनर अमित श्रेष्ठले १३ रन बनाएका थिए । त्यसबाहेक पुलिसका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । आर्मीका बसिर र साहब आलमले समान पाँच÷पाँच विकेट लिए ।
पहिलो इनिङमा पुलिसले नौ विकेटको क्षतिमा एक सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो भने आर्मीले एक सय ७० रन बनाएको थियो । आर्मीका लागि पहिलो इनिङमा भीम सार्कीले सर्वाधिक ५८ रन जोडेका थिए । उनले ५५ बलमा छ चौका र तीन छक्का प्रहार गरेका थिए ।
बसिरले ४०, सोमपालले ३२ तथा कप्तान विनोदले १४ रन बनाए । पुलिसका लागि सागरले पहिलो इनिङमा पनि पाँच विकेट लिएका थिए । कुशल भुर्तेलले तीन तथा ललित र गुलशन झाले समान एक विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो इनिङमा नौ विकेट गुमाएर एक सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो ।
पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ५१ रन बनाएका थिए । अर्जुन साउदले २८, अमितले २० र राशिदले १० रन बनाएका छन् । आर्मीका साहब आलमले सात, सोमपाल र बसिर अहमदले समान एक विकेट लिएका थिए ।

