नेपालको जलवायु न्यायको विषय अन्तरराष्ट्रिय जगतमा उठाइरहेका छौँ : मन्त्री देउवा
गण्डकी, १४ साउन – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले जलवायु न्यायको विषयलाई अन्तरराष्ट्रिय जगतमा सशक्त ढंगले उठाउँदै आएको बताउनुभएको छ। पोखरामा नेपाल तरुण दल कास्कीद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीति, जलवायु परिवर्तन एवं तरुण युवाहरूको सरोकार विषयक संवाद कार्यक्रम’मा उहाँले जलवायुजन्य हानिनोक्सानीसम्बन्धी अन्तरराष्ट्रिय कोषबाट नेपाललाई क्षतिपूर्ति दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
मन्त्री देउवाले हालै अन्तरराष्ट्रिय न्यायिक अदालतमा समेत नेपालको तर्फबाट आवाज उठाएको उल्लेख गर्दै, “विकसित राष्ट्रहरूले गरिरहेको अत्यधिक कार्बन उत्सर्जनको नकारात्मक असर नेपालले व्यहोर्नुपरेको छ,” भन्नुभयो। बाढी, पहिरो लगायतका प्रकोपले भत्काएका पुल, विद्यालयलगायत भौतिक संरचना पुनर्निर्माणमा सहयोग माग गरिएको उहाँले जानकारी दिनुभयो।
“नेपालले पनि कार्बन उत्सर्जन न्यूनीकरणतर्फ अग्रसर हुनुपर्छ,” मन्त्री देउवाले भन्नुभयो, “हालको ४५ प्रतिशत वन क्षेत्रलाई अझ विस्तार गर्न वृक्षरोपण अभियान सञ्चालन गर्नुपर्छ।”
उहाँले जलवायु परिवर्तनले उत्पन्न गरेको चुनौतीलाई सम्बोधन गर्न नयाँ पुस्ताको भूमिकालाई महत्वपूर्ण भन्दै, प्लास्टिकको प्रयोग घटाउन, विद्युतीय सवारीसाधन तथा नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
नेपालको भू–राजनीतिक स्थिति रणनीतिक रूपमा संवेदनशील रहेको उल्लेख गर्दै, मन्त्री देउवाले स्थिर परराष्ट्र नीतिका कारण नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता अन्तरराष्ट्रिय समुदायबीच स्थापित भएको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालको आफ्नै परराष्ट्र नीति र पहिचान छ, जसलाई विगतदेखि कायम राखिएको छ। हाम्रो कूटनीतिक सम्बन्धका कारण नेपाललाई अन्तरराष्ट्रिय जगतमा उच्च सम्मान प्राप्त हुँदै आएको छ।”
कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतले संगठनका सबै तहका अधिवेशन समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो। साथै, सरकार गठनको क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमति कार्यान्वयनमा जोड दिनुभयो।
त्यस्तै, नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले विपद्को समयमा राहत तथा उद्धार कार्यमा सक्रिय सहभागी हुन युवाहरुलाई आह्वान गर्नुभयो।

