वाग्मती प्रदेशका खानेपानीमन्त्रीद्वारा राजीनामा
बागमती, १३ साउन – वाग्मती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आज पदबाट राजीनामा दिएका छन्।
उहाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा पत्र बुझाउँदै पदबाट अलग भएको घोषणा गर्नुभएको हो। राजीनामा कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल भइरहेकै समयमा आएको हो।
यसअघि गत शुक्रबार प्रदेश सरकारमा कांग्रेसबाट सहभागी चार मन्त्री—आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले पनि राजीनामा दिएका थिए।
सोही दिन मुख्यमन्त्री लामाले ती चारै मन्त्रीलाई पदमुक्त गरेका थिए। यससँगै वाग्मती प्रदेश सरकारभित्रको राजनीतिक तनाव झनै चुलिएको देखिएको छ।

