खडेरीले सुदूरपश्चिमका धानबाली सुक्न थाले, गर्मीले जनजीवन कष्टकर
सुदूरपश्चिम, १० साउन – सुदूरपश्चिम प्रदेशमा सक्रिय नभएको मनसुनका कारण खडेरी गहिरिँदै जाँदा कैलालीसहितका जिल्लामा रोपिएको धान सुक्न थालेको छ। पर्याप्त वर्षा नहुँदा बोरिङमार्फत पानी तानेर गरिएको रोपाइँ प्रभावित हुँदै गएको किसानहरूको गुनासो छ। कैलालीका किसान हरिलाल चौधरीले भने, “असारको पहिलो साता बोरिङबाट पानी तानेर रोपाइँ गर्यौँ, तर दुई सातादेखि पानी नपरेपछि धान सुक्न थालेको छ।”
जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका अनुसार यो वर्ष मनसुन १५ दिनअघि प्रवेश गरे पनि प्रणाली सक्रिय हुन सकेको छैन।कार्यालय प्रमुख सञ्जय साहले असार १६ यता पर्याप्त वर्षा नभएको जनाउँदै, “धनगढीमा त्यही दिन २१२.२ मिमी वर्षा भएको थियो, त्यसपछिको वर्षा नगण्य छ,” भने।
कृषि प्राविधिकहरूका अनुसार सुक्खा मौसमका कारण खेतमा झारपात, रोग र किराको समस्या पनि देखिन सक्ने खतरा छ। जलवायु परिवर्तनका असरले मनसुन अनियमित हुँदै गएको उनीहरूको भनाइ छ।
उखरमाउलो गर्मीले जनजीवन प्रभावित
पछिल्लो दुई हप्तादेखि जारी गर्मीले कैलाली लगायतका जिल्लाको जनजीवन कष्टकर बनेको छ। स्थानीय यज्ञराज भट्टले “छट्पटिने गर्मीले राति अनिदो बस्नुपरेको” अनुभव सुनाए।बढ्दो सापेक्षिक आर्द्रता र न्यूनतम तापक्रमका कारण वृद्धवृद्धा, श्रमिक र बालबालिकामाथि असर परेको जलविज्ञहरू बताउँछन्। महाकाली बेसिन कार्यालयका प्रमुख साहका अनुसार तापक्रम सामान्य भए पनि उच्च आर्द्रताले असह्य गर्मीको अनुभूति गराएको हो।

