डिडिसीले मङ्सिरयता किसानको दूधको भुक्तानी गर्न सकेन, ६ करोड बाँकी

कञ्चनपुर, १० साउन – दुग्ध विकास संस्थान (डिडिसी) ले कञ्चनपुरका किसानको दूधको भुक्तानी गर्न नसक्दा सहकारी र किसान मारमा परेका छन्। कञ्चनपुरका सात सहकारी र ३४ कृषि फार्मको जम्मा रु ६ करोड भुक्तानी डिडिसीले गर्न बाँकी रहेको छ। डिडिसीले मङ्सिर महिनादेखि सङ्कलन गरेको दूधको पैसा अझै नतिरेको सहकारीहरूले बताएका छन्।

साथी कृषि सहकारीका अध्यक्ष कृष्णदत्त पनेरुका अनुसार, “हामीले डिडिसीबाट मङ्सिरयताको रु ६० लाख पाउनुपर्ने छ, भुक्तानी नभएकाले हामीले पनि किसानलाई पैसा दिन सकेका छैनौं।” उनीहरूले दैनिक १,५०० किसानबाट दूध सङ्कलन गर्दै मासिक पाँच हजार लिटर दूध डिडिसीलाई पठाउँदै आएका छन्। पनेरुका अनुसार, तीन हजार लिटर दूध स्थानीय बजारमै खपत हुन्छ भने बाँकी डिडिसीलाई दिइन्छ।

साना किसान सहकारीका अध्यक्ष खगेश्वर पाण्डेले पनि मङ्सिरयता रु २९ लाख ५० हजार भुक्तानी डिडिसीबाट लिन बाँकी रहेको बताए। “समयमै भुक्तानी नहुँदा सहकारीकै बचत रकमबाट किसानलाई पैसा तिर्नु परेको छ,” उनले भने।यसबारे डिडिसी धनगढी दुग्ध वितरण आयोजनाका प्रमुख निरञ्जन भट्टराईले “कात्तिकदेखि चैतसम्म दूध उत्पादन बढी हुने भएकाले भुक्तानीमा ढिलाइ भएको” बताए।

उनका अनुसार, “जम्मा रु ६ करोड तिर्न बाँकी छ भने गत महिनामै रु ३ करोड ३७ लाख भुक्तानी गरिसकिएको छ।”  कञ्चनपुरबाट मासिक २,५०० देखि ४,००० लिटर दूध सङ्कलन हुने गरेको डिडिसीले जनाएको छ।

Facebook Comments Box