शुक्लाफाँटामा गाईको बाच्छीमा लम्पी स्किन रोग पुष्टि

कञ्चनपुर, ३ असोजः शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा एक किसानले पालेको गाईको बाच्छीमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ। गाईमा लक्षण देखिएपछि पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीको टोलीले नमूना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गराएको हो।

पिसिआर विधिबाट गरिएको परीक्षणमा लम्पी स्किन रोग पोजिटिभ देखिएको पुष्टि भएको छ। वरिष्ठ पशु चिकित्सक जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा यो रोग दुई वर्षअघि मात्र देखिएको थियो। त्यसयता हालसम्म पहिलोपटक पुनः सङ्क्रमण भेटिएको हो। अहिलेसम्म एक गाईमा मात्र लक्षण देखिए पनि अन्य पशुमा भने लक्षण भेटिएको छैन।

जोशीले भने, “कुन ठाउँबाट रोग फैलियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। विसं २०८० मा देशभर करिब १३ लाख पशु यस रोगबाट सङ्क्रमित भएका थिए भने झण्डै ५० हजार पशुको मृत्यु भएको थियो।” सुदूरपश्चिममा लम्पी स्किनविरुद्धको खोप पर्याप्त रूपमा नलगाइएको र वर्षायाम चलिरहेको कारण रोग फैलिन सक्ने खतरा रहेको जनाइएको छ।

लक्षणहरू:

  • शरीरभरि गाठी (ठूला दाना) उठ्ने

  • आँखा, नाक र मुख वरिपरि फोका देखिने

  • उच्च ज्वरो (१०४ डिग्री फरेनहाइट वा बढी)

  • दूध उत्पादन ८०% सम्म घट्ने

  • कचेरा र सिङ्गान बढी आउने

  • फिँज निकाल्ने, लिम्फ नोड सुन्निने

नियन्त्रणका उपाय:

  • सङ्क्रमित पशुलाई तुरुन्त अलग राख्ने

  • गोठ वरिपरि सरसफाइमा ध्यान दिने

  • कीरा र लामखुट्टेजस्ता रोग सार्ने वाहक नियन्त्रण गर्ने

  • गोठभित्र पस्दा वा पशु छोँदाखेरि सावधानी अपनाउने

शुक्लाफाँटा नगरपालिकाका पशु विकास शाखा प्रमुख रामप्रसाद भट्टले किसानलाई सचेत गराउँदै सङ्क्रमित पशुलाई अन्यसँग नबाध्न आग्रह गरेका छन्।

Facebook Comments Box