तल्लो सोलु जलविद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
सोलुखुम्बु, १० साउन – सोलुखुम्बुमा निर्माण सम्पन्न ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा सफलतापूर्वक जोडिएको छ। सोलु हाइड्रोपावर लिमिटेडको प्रवर्द्धनमा निजी लगानीमा निर्माण भएको आयोजनाबाट उत्पादित विद्युत् तिङ्ला सबस्टेसन हुँदै १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत ग्रिडमा प्रवाहित भइरहेको छ।
आयोजनाका सहायक प्रबन्धक कृष्णबहादुर चौधरीका अनुसार, साउन ४ गतेदेखि पहिलो युनिटबाट उत्पादन सुरु भई हाल दुवै युनिटको ग्रिड परीक्षण सकिएको हो। बाँध सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सीमामा रहेको साल्मेमा निर्माण गरिएको हो भने पावर हाउस करिब ६ किमी तल तिङ्लाको भदौरेमा भूमिगत रूपमा निर्माण गरिएको छ।
४१–४१ मेगावाट क्षमताका दुई पेल्टन टरबाइनमार्फत सञ्चालन हुने यो आयोजनाको सुरुङ ५ किमी लामो छ। आगामी १५ दिनसम्म नेपाल विद्युत् प्राधिकरणले परीक्षण गरी स्वीकृति दिएपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्नेछ।
सन् २०१६ देखि निर्माण सुरु भएको आयोजनालाई भौगोलिक अप्ठ्यारो, प्राविधिक चुनौती र प्राकृतिक विपत्तिका बाबजुद समयभन्दा दुई महिना अघिनै सम्पन्न गरिएको हो। निर्माण अवधिमा पहिरोले पेनस्टकसहितका संरचना भत्काउँदा पुनर्निर्माण गर्नुपरेको थियो।
एफएमओलगायत युरोपेली बैंकहरूको रु १६ अर्बको लगानीमा बनेको आयोजना निजी र अन्तर्राष्ट्रिय सहकार्यको नमूना मानिएको छ। यो आयोजना सरकारको ‘सुपर सिक्स’ अन्तर्गत पर्ने जलविद्युत् परियोजनामध्ये एक हो। यसअघि निजी क्षेत्रबाट निर्माण सम्पन्न सबैभन्दा ठूलो आयोजना ८६ मेगावाटको सोलु दूधकोशी हो भने तल्लो सोलु दोस्रो ठूलो निजी आयोजना हो।
हिउँदमा २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ। आयोजनाले सोलुखुम्बुमा रोजगारी, पूर्वाधार विकास र स्थानीय आर्थिक गतिविधिमा उल्लेखनीय योगदान पुर्याएको छ। स्थानीय जनप्रतिनिधिहरूले यस आयोजनालाई जिल्लाको समृद्धिको आधारका रूपमा लिएका छन्

