चाँगुनारायण नगरपालिकाको सम्पदा संरक्षण अभियान सुरु
भक्तपुर, ८ साउन – चाँगुनारायण नगरपालिका भित्र रहेका ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका सम्पदाको उत्खनन तथा संरक्षणको अभियान सुरु गरिएको छ। नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर सम्पदाको पहिचान, अनुसन्धान र संरक्षणमा विशेष जोड दिएको हो।
बुधबार चाँगुनारायण–७ स्थित बागेहिटीको त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा आयोजित शिव पुराण र विष्णु पुराण ज्ञान महायज्ञ कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले उक्त जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “नगरपालिका–१ देखि ९ सम्म ऐतिहासिक, धार्मिक र पुरातात्विक सम्पदाले भरिपूर्ण छन्। तीमध्ये धेरै सम्पदा ओझेलमा छन् र केहीको उत्खनन र अनुसन्धान आवश्यक छ। अब ती सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धनमा नगरपालिका लाग्नेछ।”
नगर प्रमुख खत्रीले सम्पदाको संरक्षणमा स्थानीय समुदायको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सबै वडाका बासिन्दालाई अभियानमा साथ दिन आग्रह गर्नुभयो। नगरपालिकाले पुरातत्व विभागसँग समन्वय गरेर विज्ञ टोली परिचालन गर्ने र भेटिएका सम्पदाको वैज्ञानिक ढंगले उत्खनन गरी संरक्षण गर्ने योजना बनाएको छ।
उहाँका अनुसार नगर क्षेत्रको पर्यटन विकास नगरकोटको सूर्योदय, सूर्यास्त वा सगरमाथा दृश्यावलोकनसम्म सीमित नरही, स्थानीय सम्पदाको संरक्षण र प्रबर्द्धनमार्फत आर्थिक विकासको ढोका खोल्ने उद्देश्य रहेको छ।

