पुस्तक बिक्रीबाट सङ्कलित रु १२ करोड राष्ट्रिय आविष्कार केन्द्रलाई

झापा, ६ साउन  – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ को बिक्री दुई लाख १८ हजार प्रति पुगेको छ। डा. पुनले पुस्तक बिक्रीबाट हालसम्म रु १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको जानकारी दिनुभयो। उक्त पुस्तकको मूल्य रु ७५० रहेको छ।

बिक्रीबाट सङ्कलित रकम केन्द्रले सञ्चालन गर्दै आएको वीरगञ्ज औजार कारखाना र आविष्कारसम्बन्धी गतिविधिमा खर्च गरिने बताइएको छ। डा. पुन झापामा एक सातादेखि पुस्तक बिक्री अभियानमा सक्रिय छन् भने विभिन्न संस्थागत र व्यक्तिगत रूपमा पुस्तक किन्ने क्रम बढिरहेको छ।

सोमबार विर्तामोड नगरपालिकाले केन्द्रलाई सहयोग स्वरूप रु ५० हजार बराबरको पुस्तक खरिद गरेको छ। नगरउपप्रमुख पवित्रा महतरा प्रसाईँले डा. पुनको आत्मनिर्भरता अभियान प्रशंसनीय भएको बताउँदै सहयोगमा गर्व लागेको व्यक्त गर्नुभयो।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले डा. पुनको देशप्रेम र लगनशीलता अनुकरणीय रहेको उल्लेख गर्दै युवाहरूलाई पुस्तक किनेर मुलुकलाई आत्मनिर्भर बनाउन योगदान गर्न आग्रह गर्नुभयो। विर्तामोड, दमक, बाह्रदशी, बुद्धशान्ति लगायतका स्थानमा सामाजिक संस्था र युवाहरूको नेतृत्वमा पुस्तक किन्ने अभियान सञ्चालन भइरहेको छ।

सोमबार आयोजित कार्यक्रममा डा. पुनले सामाजिक सञ्जालमा नेताहरूलाई मात्र गाली नगर्न युवाहरूलाई आग्रह गर्दै, “देशका लागि आ–आफ्नोतर्फबाट सानो भए पनि योगदान गर्नुपर्छ” भन्नुभयो। डा. पुनले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजारहरू उत्पादन भइरहेको र ती उपकरणहरू भविष्यमा साना किसानका लागि लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो।

Facebook Comments Box