फाइभ–जी सेवा चाँडै सुरु गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौँ, ६ साउन – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणलाई फाइभ–जी नेटवर्क चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।

नेपाल टेलिकम (एनटिसी) र दूरसञ्चार प्राधिकरण (एनटिए) को आगामी आर्थिक वर्ष २०८२/८३ का वार्षिक योजना तथा बजेटबारे मन्त्रालयमा आयोजित छलफलका क्रममा मन्त्री गुरुङले यसअघि पटक–पटक निर्देशन दिँदा पनि फाइभ–जी सञ्चालनमा ढिलाइ हुनु दुःखद् भएको बताए।

“म मन्त्री बनेयता फाइभ–जी सुरु गर्न निरन्तर भनिरहेकै छु,” उनले भने, “तर एक वर्षसम्म पनि सेवा सुरु नभएको देख्दा अब ढिला गर्नु हुँदैन। अब चाँडोभन्दा चाँडो सेवा विस्तारमा लाग्नुपर्छ।”

मन्त्री गुरुङले फोर–जी नेटवर्क विस्तारको गति अझ तीव्र पार्दै प्रत्येक घरसम्म सेवा पुर्‍याउन टेलिकमलाई आग्रह गरे। इन्टरनेट र फोन सेवामा आउने समस्याले सरकारको डिजिटल सुशासन र डिजिटल नेपालको अवधारणामा असर पार्ने भन्दै उनले ढिलासुस्ती नगर्न चेतावनी दिए।

“सैद्धान्तिक रुपमा जिल्लाभर टेलिकम पुगेको मात्रै पुग्दैन, व्यवहारमा जनताको घरघरमा सेवा पुग्नुपर्छ,” उनले जोड दिए।

राजमार्ग क्षेत्रमा नेटवर्क अवरोध भइरहने समस्या कम गर्न पनि उनले एनटिए र एनटिसीको ध्यानाकर्षण गराए। उनले पर्यटकीय क्षेत्रहरूमा सेवा सुदृढ गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

“पर्यटन प्रवर्द्धनमा इन्टरनेट र फोन सेवाको भूमिका ठूलो हुन्छ,” मन्त्री गुरुङले भने, “जहाँ जनतालाई अत्यन्तै जरुरी छ, त्यहाँ टेलिकम पुग्नैपर्छ। यस वर्षभित्र फाइभ–जी सेवा सुरु गर्नैपर्छ।”

मन्त्री गुरुङले एनटिसीको प्रचारप्रसार गतिविधि कमजोर रहेको भन्दै शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमार्फत सेवा विस्तारका जानकारी जनतासम्म पुर्‍याउन आग्रह गरे।

छलफलमा सञ्चार सचिव राधिका अर्यालले सूचनाप्रविधिको क्षेत्रमा काम गरिरहेका युवालाई प्रेरित गर्ने खालका कार्यक्रम आवश्यक रहेको बताइन्। “नवीन कार्य गरिरहेका युवालाई हौसला दिने कार्यक्रम समयको माग मात्र होइन, राज्यको दायित्व पनि हो,” उनले भनिन्।

एनटिएका अध्यक्ष भूपेन्द्र भण्डारीले फाइभ–जी सेवा सञ्चालनको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै चाँडै बोलपत्र प्रक्रिया सुरु गरिने बताए।

एनटिसीकी निमित्त प्रबन्ध निर्देशक सविना मास्के (प्रधान)ले फोर–जी विस्तारको काम निरन्तर भइरहेको र फाइभ–जी लन्चको तयारी तीव्र पारिएको जानकारी दिइन्।

Facebook Comments Box