पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

काभ्रेपलाञ्चोक, ६ साउन  – पाँचखाल नगरपालिकाले कर नतिर्ने इँटा उद्योग बन्द गर्ने प्रक्रिया अगाडि बढाएको छ। समयमै कर बुझाउन नसकेका पाँच इँटा उद्योगलाई नगर कार्यपालिकाको निर्णयअनुसार सिल गरिएको हो।

आर्थिक ऐन २०८१ को अधिनमा व्यवसाय कर चुक्ता गर्नुपर्ने भए पनि पटकपटक पत्राचार गरेपनि कर तिर्ने गरिएको नपुगेपछि २०८१ चैत २६ गते नगर कार्यपालिकाले इँटा बिक्री बन्द गर्ने निर्णय गरेको थियो। हालसम्म कर नतिरेका उद्योगहरूलाई गत असार १८ गतेको निर्णयअनुसार सिल गरिएको नगर प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो।

सोमबार सुरक्षाकर्मी र नगर प्रतिनिधिको टोलीले पाँचखाल–१२ मा रहेको श्री जय भीमसेन इँटा उद्योग प्रालि, पलाञ्चोक भगवती फिक्स चिम्नी इँटा उद्योग र पाँचखाल–७ स्थित सुवर्णेस्वरी इँटा उद्योग प्रालिलाई सिल गरेको छ। पाँचखाल–८ स्थित उपकार इँटा उद्योग र वडा नं ९ मा रहेको पलाञ्चोक भगवती ब्रिक इन्डस्ट्रिज प्रालिको सिल प्रक्रियामा रहेको जनाइएको छ। पाँचखालमा हाल आठ इँटा उद्योग सञ्चालनमा छन्।

यसैबीच, गत जेठ अन्तिम साता काभ्रेको मण्डनदेउपुर नगरपालिकाले कर नतिरेका चार क्रसर र इँटा उद्योगलाई पनि बन्द गराएको थियो। नगरप्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा अनुगमन टोलीले कर नतिरेका तथा नवीकरण नभएका उद्योगहरूमा ताला लगाएको थियो।

Facebook Comments Box