कराते खेलाडी ओमराज मगर अब अकबरे खुर्सानी खेतीमा सक्रिय

म्याग्दी, ५ साउन – कराते खेलाडीको रूपमा परिचित ओमराज मगर अहिले व्यावसायिक कृषिमा जुटेका छन्। म्याग्दीको धवलागिरि गाउँपालिका–७, शिवाङ स्थित आफ्नो धौलागिरि कृषि तथा पशुपक्षी फार्ममा मगरले पहिलो पटक मल्चिङ प्रविधि प्रयोग गरेर अकबरे खुर्सानीको व्यावसायिक खेती थालेका छन्।

छ रोपनी क्षेत्रफलमा फैलिएको खेतीमा झार नउम्रने र माटोको नमी जोगिने उद्देश्यले मल्चिङ प्रविधि अपनाइएको मगरले जानकारी दिनुभयो। “बोटबाहेकका जमिनलाई प्लास्टिकले छोप्ने प्रविधिले उत्पादन राम्रो हुने देखिएको छ,” उहाँको भनाइ छ। समुद्री सतहदेखि २,००० मिटर उचाइमा अवस्थित शिवाङमा अघिल्ला दुई वर्ष परीक्षण खेती गरेपछि यस वर्षबाट मगरले रु २ लाख ५० हजारको लगानीमा अकबरे खुर्सानी खेती व्यावसायिक रूपमा सुरु गर्नुभएको हो।

गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाका अनुसार धवलागिरिमा यसअघि अकबरे खुर्सानी खेती व्यावसायिक रूपमा गरिएको थिएन। घरायसी प्रयोजनमा सीमित खेती हुँदै आएको भए पनि बजारको माग हेरेर मगरले व्यावसायिक उत्पादन थालेका हुन्।

अहिले म्याग्दीमा अकबरे खुर्सानी प्रतिकिलो रु २५० मा बिक्री हुँदै आएको छ। माग उच्च भए पनि हाल म्याग्दीमा खुर्सानी मुख्यतः तराई र पूर्वी पहाडी जिल्लाबाट आयात हुने गरेको छ। कृषि वैज्ञानिकहरूका अनुसार दिउँसो २२–२५ र राति १५–२० डिग्री सेल्सियस तापक्रम हुने स्थान खुर्सानी खेतीका लागि उपयुक्त मानिन्छ।

तीस वर्षीय ओमराज मगरले वैदेशिक रोजगारी र परम्परागत खेतीको विकल्पमा कृषिलाई रोज्दै अकबरे खुर्सानीसँगै किबी खेती, कुखुरा र बाख्रापालन पनि गर्दै आएका छन्। फार्ममा रहेका ७० किबी बोटबाट गत वर्ष मात्रै ३ हजार किलो किबी बिक्री गरेको उहाँले जानकारी दिनुभयो।

Facebook Comments Box