राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध, सेवाग्राही प्रभावित

काठमाडौँ, ५ साउन – राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मतसम्भार र क्षमता विस्तारको काम भइरहेकाले केही सेवा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ।

विभागका सूचना अधिकारी शिवराज सेढाइँका अनुसार, मर्मत कार्य सम्पन्न नभएसम्म नागरिक विवरण सङ्कलन, कार्ड वितरण, विवरण सच्याउने, जन्मदर्तामा परिचय नम्बर प्राप्त गर्ने, सामाजिक सुरक्षा भत्ता लाभग्राही दर्ता/नवीकरणमा प्रयोग हुने प्रमाणीकरण सेवा, साथै सूचना प्रणालीसँग जोडिएका अन्य सेवाहरू प्रभावित हुनेछन्।

सेढाइँले भने, “राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीसँग सम्बन्धित सार्वजनिक सेवाहरूमा समस्या देखिएको छ, तर मर्मत कार्य सकिएलगत्तै सेवा पुनः सुचारु हुनेछ।” विभागले आइतबारदेखि सेवा अवरुद्ध भएको जानकारी दिँदै सरोकारवालाहरूलाई सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ।

यद्यपि, राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरण कार्य अफलाइनमार्फत सम्भव भएकाले सबै सेवा इकाईहरूलाई सोही माध्यमबाट सेवा जारी राख्न निर्देशन दिइएको छ। विभागले सेवा लिने सर्वसाधारणलाई अफलाइन सेवा प्रयोग गर्न आग्रह गर्दै अनलाइन सेवा सुचारु भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत उपलब्ध गराइने जानकारी दिएको छ।

Facebook Comments Box