भरतपुर अस्पतालमा दैनिक १०–१२ सर्पदंशका बिरामी

चितवन, ५ साउन – वर्षा सुरु भएसँगै भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। पछिल्ला तीन महिनामा मात्र अस्पतालमा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालको आकस्मिक कक्ष प्रमुख डा. अलाउद्दिन मियाँका अनुसार, वैशाख महिनामा ६० जना, जेठमा १०५ जना र असारमा १२६ जना सर्पदंशका बिरामी अस्पताल पुगेका थिए।

तीमध्ये असारमा मात्र ९ जना विशालु सर्पले डसेका बिरामी थिए भने वैशाख–जेठमा ५ जना विशालु सर्पको शिकार भएका थिए। चितवनसहित मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), तनहुँ, गोरखा र लमजुङबाट समेत बिरामीहरू उपचारका लागि भरतपुर अस्पताल आउने गरेका छन्। डा. मियाँका अनुसार, विशालु सर्प अन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपर लगायतका सर्पले डस्ने गर्छन्।

करेत, गोमन र कोभ्राको टोकाइले नसा प्रणालीमा असर पुर्‍याउने गर्छ भने भाइपरले रगतको संरचना बिगार्ने खतरा हुन्छ। विशालु सर्पको टोकाइमा परेका बिरामीलाई सघन उपचार कक्ष (ICU) मा राखेर उपचार गरिँदै आएको छ भने अन्य बिरामीलाई आकस्मिक कक्षमै ६ घण्टासम्म निगरानीमा राखी लक्षणअनुसार उपचार गरिन्छ।

हाल अस्पतालमा दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी आउने गरेको डा. मियाँले जानकारी दिनुभयो। उहाँका अनुसार, “भरतपुर अस्पतालमा सर्पदंशको उपचार प्रभावकारी भएकाले यहाँ बिरामीको चाप बढेको हो।”

Facebook Comments Box