दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय स्थापना
खोटाङ, २ साउन – कोशी प्रदेश सरकारले पूर्वाधार विकासलाई सशक्त बनाउने उद्देश्यले खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ। बिहीबार भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई ले उक्त कार्यालयको औपचारिक उद्घाटन गर्नुभयो।
कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशभित्रका १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरिने क्रम अन्तर्गत खोटाङमा स्थापना गरिएको यो कार्यालयले जिल्लावासीलाई अब योजनाका फाइल लिएर उदयपुर, ओखलढुङ्गा वा विराटनगर जानुपर्ने झन्झटबाट मुक्ति दिलाउनेछ।
मन्त्री राईले उद्घाटन समारोहमा भन्नुभयो, “अब योजनाको सम्झौता, प्राविधिक प्रक्रिया, अनुगमन, तथा भुक्तानीलगायत सम्पूर्ण कार्य जिल्लामै हुने भएकाले काम छिटो, गुणस्तरीय र जनमुखी हुने अपेक्षा गरिएको छ। यो सङ्घीयताको मूर्त रूप हो।” कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, स्थानीय तहका प्रमुखहरू, सुरक्षा निकायका प्रतिनिधि, निर्माण व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो।
भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको निर्देशनालय मातहत रहने उक्त कार्यालयमा हाललाई १३ जनाको दरबन्दी कायम गरिएको छ। कार्यालय प्रमुखसहित ३ जना कर्मचारी कार्यरत भइसकेका छन् भने बाँकी १० जना पनि चाँडै पदस्थापन हुने मन्त्रालयका सचिव साह ले जानकारी दिनुभयो।
यस आर्थिक वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट खोटाङमा १५१ वटा योजना कार्यान्वयनका लागि रु १ अर्ब २ करोड ५८ लाख २८ हजार बजेट विनियोजन गरिएको सचिवालयका कर्मचारी सन्तोष राई ले जानकारी दिनुभयो। तीमध्ये एकवर्षे तथा बहुवर्षे योजना दुवै समावेश छन्।

