आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको धितोपत्र कारोबार

काठमाडौँ, २ साउन – सुस्त अर्थतन्त्रबीच पनि आर्थिक वर्ष २०८१/८२ मा नेपालको पूँजी बजारले उल्लेख्य प्रगति गर्दै धितोपत्र दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार सो अवधिमा कुल कारोबार रकम रु २१ खर्ब २४ अर्ब ९१ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८९.२३ प्रतिशतले वृद्धि हो।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा रु ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको कारोबार भएको थियो। त्यसअघिको रेकर्ड आर्थिक वर्ष २०७७/७८ मा कायम भएको थियो, जुन वर्ष रु १४ खर्ब ५४ अर्ब ४४ करोड बराबरको कारोबार भएको थियो। आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म बजार पुँजीकरण रु ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ। यो अघिल्लो वर्षको अन्त्यमा रहेको रु ३५ खर्ब ५३ अर्ब ६७ करोडको तुलनामा ३१.०५ प्रतिशतले वृद्धि हो।

सूचीकृत कम्पनी र धितोपत्रमा विस्तार

  • आर्थिक वर्षको अन्त्यसम्म सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ।

  • मर्जर तथा एक्विजिसनका कारण तीन कम्पनी सूचीबाट हटेका छन्।

  • चारवटा कम्पनी पहिलो सार्वजनिक निष्कासन (IPO) बाट सूचीकृत भएका छन्।

  • सो वर्षमा जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन्, जसमा:

    • IPO: ३ करोड ६५ लाख कित्ता

    • थप निष्कासन: ११ लाख २० हजार कित्ता

    • सरकार र स्थानीय वितरण: ४ करोड ३२ लाख ५८ हजार कित्ता

    • सामूहिक लगानी कोष: ३७ करोड ८१ लाख एकाइ

    • संस्थागत ऋणपत्र: ८३ लाख कित्ता

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले आर्थिक वर्ष २०८१/८२ मा भएको उत्साहजनक कारोबारका लागि अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नियामक निकायहरू, कारोबार सदस्य, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, लगानीकर्ता र सञ्चारकर्मीप्रति आभार व्यक्त गर्नुभएको छ।

Facebook Comments Box