आँखा उपचारमार्फत नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना, विदेशी बिरामीबाट रु १.५० अर्बभन्दा बढी आम्दानी
काठमाडौं । नेपालले आँखा उपचार सेवामार्फत स्वास्थ्य पर्यटनको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले आर्थिक वर्ष २०८२/८३ मा विदेशी बिरामीलाई उपचार सेवा प्रदान गरेर रु १ अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याएका छन्।
सङ्घका अनुसार भारतबाट सबैभन्दा धेरै बिरामी उपचारका लागि नेपाल आउने गरेका छन्। बङ्गलादेश, भुटानलगायत अन्य मुलुकका नागरिकले पनि नेपालका आँखा अस्पतालबाट सेवा लिइरहेका छन्। यसले नेपाली चिकित्सकको दक्षता, उपचार सेवाको गुणस्तर र नेपालको स्वास्थ्य प्रणालीप्रति अन्तरराष्ट्रिय विश्वास बढ्दै गएको देखाएको छ।
हाल नेपाल नेत्रज्योति सङ्घको सञ्जालमा २८ वटा आँखा अस्पताल र २२६ वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन्। आर्थिक वर्ष २०८२/८३ मा यी संस्थामार्फत पाँच करोडभन्दा बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गरिएको छ भने ५६ लाखभन्दा बढी आँखाको शल्यक्रिया सम्पन्न भएको सङ्घले जनाएको छ।
विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण, सफल शल्यक्रियाको उच्च दर, तुलनात्मक रूपमा कम उपचार खर्च र छोटो प्रतीक्षा अवधिका कारण नेपाल विदेशी बिरामीका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। उपचारका लागि आउने बिरामी र उनीहरूका आफन्तले होटल, यातायात, भोजन, औषधि तथा अन्य सेवामा समेत खर्च गर्ने भएकाले स्वास्थ्य पर्यटनले समग्र अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्याइरहेको छ।
सन् २०२५ मा मात्रै सङ्घको सञ्जालमार्फत नौ लाख ११ हजार ९८० विदेशी नागरिकको आँखा परीक्षण गरिएको थियो भने एक लाख ५३ हजार ८६ जनाको शल्यक्रिया सम्पन्न भएको तथ्याङ्क छ। विसं २०३५ मा स्थापना भएको नेपाल नेत्रज्योति सङ्घले समुदायमा आधारित आँखा स्वास्थ्य सेवा विस्तार गर्दै अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण योगदान दिएको छ।
सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपनको दर घटेर हाल करिब ०.२८ प्रतिशतमा झरेको छ। नेपाल सरकारले सन् २०३० सम्म यो दर ०.२० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। हालै सङ्घले कम्बोडियामा सञ्चालन गरेको निःशुल्क आँखा उपचार शिविरमा एक हजार २०० भन्दा बढी नागरिकले सेवा लिएका थिए। यसले नेपाली नेत्र विशेषज्ञहरूको अन्तरराष्ट्रिय क्षमता र विश्वसनीयतालाई थप बलियो बनाएको सङ्घको भनाइ छ।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार सरकारले स्वास्थ्य पर्यटनसम्बन्धी स्पष्ट नीति, आधुनिक पूर्वाधार, सहज उपचार प्रक्रिया र अन्तरराष्ट्रिय प्रवर्द्धनमा जोड दिन सके नेपालले आँखा उपचार सेवामार्फत दक्षिण एसियाकै प्रमुख स्वास्थ्य गन्तव्यका रूपमा आफ्नो पहिचान स्थापित गर्न सक्नेछ।

