राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो

म्याग्दी, २ साउन – म्याग्दी जिल्लामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले प्रवर्द्धन गरिरहेको यो आयोजना म्याग्दीको बहुप्रतिक्षित परियोजनामध्ये एक हो।

भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) ले २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६) मा रु छ अर्बमा सिभिल निर्माणका लागि ठेक्का लिएको थियो। सम्झौताअनुसार ४५ महिनामा आयोजना सम्पन्न गर्ने लक्ष्य थियो। तर, दुईपटक म्याद थपिसकेपछि अन्तिम म्याद २०२४ जुन २७ मा सकिएको थियो।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार ९० प्रतिशत भौतिक प्रगति भइसकेको आयोजनाको म्याद तेस्रोपटक २०२५ नोभेम्बर २७ सम्म थपिएको छ। ठेकेदारले २०२५ डिसेम्बर ३१ सम्म म्याद माग गरे पनि परामर्शदाता ‘वाकफोस’को सिफारिसअनुसार चार महिना मात्रै थप गरिएको हो।

ठेकेदार कम्पनीले निर्माणमा भएको ढिलाइको कारण कोरोना महामारी, बाढीपहिरो, र निर्माण सामग्रीको अभावलाई देखाएको छ। बर्खायाममा बुग्ल क्षेत्रको पहिरो सक्रिय हुँदा बाँधस्थल जाने सडक अवरुद्ध हुने तथा बाढीले बाँध नजिकै गेग्रान थुपार्दा कार्य प्रभावित भएको थियो। यस्तै, सर्वोच्च अदालतको आदेशले तीन वर्षसम्म कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा रोक लगाएपछि सामग्री अभाव भएको थियो।

२०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का पाएको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले पनि विद्युत्गृहका उपकरण आयात र जडानमा ढिलाइ गरिरहेको छ। भेलसँगको म्याद सन् २०२५ डिसेम्बर ३१ सम्म कायम छ।

आयोजनाका प्रमुख राजु विष्टका अनुसार सिभिल र इलेक्ट्रोमेकानिकल काममा तालमेल गराउन सहजीकरण र समन्वय भइरहेको छ। उहाँले कार्ययोजनाअनुसार काम भएमा आयोजना आगामी डिसेम्बरसम्म सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, ६.२७ किलोमिटर सुरुङ र तिल्केनीचौरमा विद्युत्गृह निर्माणको कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ।

आयोजना भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियत ऋण, नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा EPC मोडेलमा सञ्चालित छ। कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभीआरसीएलसँगको ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रिया सुरु गरिएको थियो। नयाँ ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ निर्माण सुरु गरेको हो।

राहुघाट आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (PPA) गरेको हो। उत्पादन भएको विद्युत् दाना–कुश्मा २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ। सो प्रसारण लाइनका चारवटा टावरसहितको संरचना निर्माण भइसकेको छ।

Facebook Comments Box