रसुवा बाढीमा मृत्यु हुनेको सङ्ख्या ४६९ पुग्यो, ९७७ जना अझै बेपत्ता
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४६९ पुगेको छ। गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले आज बिहान साढे ७ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९७७ जना अझै बेपत्ता छन्।
मन्त्रालयका अनुसार फेला परेका ४६९ शवमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको शव भेटिएको छ।
यस्तै, नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ। गोरखामा फेला परेका शव तथा मानव अङ्गसमेत समेटिएको मन्त्रालयले जनाएको छ। बाढीमा परी ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवामा मात्रै ४३ जना रहेका छन्। यस्तै, विपद्मा परेका तीन हजार २५३ जनाको जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
९७७ जना अझै सम्पर्कविहीन
मन्त्रालयका अनुसार सम्पर्कविहीन रहेका ९७७ जनामा विदेशी नागरिक, सुरक्षाकर्मी, स्थानीय तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीसमेत छन्। सम्पर्कविहीन हुनेमा ५१७ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १२७ जना नेपाली रहेका छन्।
यस्तै, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। रसुवाका १६१ र मकवानपुरका ६६ जना स्थानीय पनि सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ। भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका चार जना कर्मचारीसमेत सम्पर्कविहीन छन्।
नौ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
बाढी तथा अन्य विपद् प्रतिकार्यका लागि देशभर नौ हजार ४०५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका चार हजार २४३, नेपाल प्रहरीका तीन हजार ३१८ र सशस्त्र प्रहरी बलका एक हजार ८४४ जना सुरक्षाकर्मी खटिएका छन्। उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाका छ वटा र निजी क्षेत्रका नौ वटा गरी १५ वटा हेलिकप्टरसमेत परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। बेपत्ताको खोजी, उद्धार तथा राहत वितरणको काम विभिन्न प्रभावित क्षेत्रमा जारी रहेको छ।

