पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान हुन सकेन
वीरगञ्ज, २७ असार – पर्सा जिल्लाको तिलाबे खोलामा यस वर्ष पनि बेलिब्रिज जडान हुन सकेको छैन। सडक विभागले बेलिब्रिज निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो, तर विभागले उक्त ‘स्टिल बेलिब्रिज’को ठेक्का रद्द गरेको छ।
विसं २०८१ को वर्षायाममा आएको बाढीले तिलाबे पुलमा ठूलो क्षति पुर्याएको थियो। यो पुल वीरगञ्ज महानगर र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको छ र ग्रामीण क्षेत्रका लागि मुख्य आवतजावत मार्ग हो। बाढीले पुलको फाउन्डेसनसँगै रहेको पिलरमा क्षति पुर्याउँदा पुल जोखिममा परेको छ र सवारीसाधन सञ्चालन रोकिएको छ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलले जानकारी दिनुभयो कि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्टिल बेलिब्रिज उपलब्ध नभएकाले सडक ‘एप्रोच’ र बेलिब्रिज जडानका लागि आह्वान गरिएको ठेक्का रद्द गर्न परेको हो।
उहाँका अनुसार, चालु आर्थिक वर्षभित्रै बेलिब्रिज जडान र सडक एप्रोच निर्माण गर्ने गरी रु ३ करोड ३० लाखको ठेक्का आह्वान गरिएको थियो। तर वर्षायाम सुरु भएसँगै काम रोकिन पुगेको छ। पटेलले भन्नुभयो, “आव सुरु हुने बित्तिकै तिलाबे पुलको सडक एप्रोच र बेलिब्रिज जडानको बोलपत्र पुनः आह्वान गरिनेछ।”

