बिहान साढे ७ बजे कुपन : खोप लगाउन लाम

काठमाडौँ, १५ वैशाख – थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा डल्लुका सुरेश बोगटी कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउनका लागि बिहान ६ बजे पुग्नुभयो । उहाँ पुग्दा टोकन लिनेको भीड थियो ।

बिहान ७ बजेदेखि बाँडिएको टोकन केहीबेरमा नै सकियो । बिहान साढे ७ बजे कुपन लिनुभएका उहाँको पालो ११ बजे मात्र आएको थियो । “म पुगेको एक घण्टापछि खोपका लागि टोकन बाँड्न शुरु गरिएको थियो,” उहाँले भन्नुभयो, “मैले त्यही लाइनमा बसेर टोकन लिएँ । मेरो टोकन नं ५२१ थियो, बिहान ११ बजेतिर खोप लगाउन पालो आयो ।”

प्रसूति अस्पतालमा टोकनअनुसार पालो आएकालाई प्रहरीले खोप लगाउनका लागि पठाउने गरेको छ । बोगटीजस्ता मानिसहरु खोप लगाउनका लागि अहिले बिहानै काठमाडौँ उपत्यकाका ११ खोप केन्द्रमा जाने गरेका छन् । खोप लगाउनका लागि बिहान गए मात्र पालो पाइने भएकाले मानिस सबेरै उठेर जाने गर्छन् ।

अहिले निजामती कर्मचारी अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, भक्तपुर अस्पताललगायत अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउनेका भीड छ । सरकारले १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका सबैलाई खोप लगाउन थालेपछि अहिले भीड भएको हो ।

यस्तै प्रसूतिमै बिहान ७ बजे खोप लगाउन आउनुभएका ललितपुर च्यासलका दीपेश शाक्यको पालो साढे ११ बजे मात्र आयो । बिहान टोकन लिएर उहाँ १० बजेमात्र खोप लगाउन आउनुभयो ।

प्रसूति अस्पतालले खोप लगाउन आउने व्यक्तिको भीड भएपछि मङ्गलबारदेखि टोकन प्रणाली शुरु गरेको हो । बिहान एक घण्टा टोकन बाँड्ने गरिन्छ । टोकन लिनेले आफ्नो पालोअनुसार गएर खोप लगाउने गर्छन् ।

सरकारले यही वैशाख १२ गतेदेखि कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ लगाउन शुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काका अनुसार अहिलेसम्म एक लाख ४१ हजारले खोप लगाइसकेका छन् ।

सङ्क्रमण बढ्न थालेपछि अहिले कोभिड–१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाउनेको पनि भीड देखिएको छ । ‘भेरोसेल’ लगाएपछि असर पनि नदेखिने भएकाले मानिसको आकर्षण बढेको उहाँले जानकारी दिनुभयो । “खोप लगाएपछि कतै पनि असर नहुने भएपछि खोप लगाउने मानिसमा उत्साह भएको छ”, उहाँले भन्नुभयो, “ बिहानैदेखि मानिस खोप लगाउनका लागि खोप केन्द्र आउने गर्दछन ।”

उहाँले खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म लाम लागेका सबैलाई लगाउन भनिएको जानकारी दिनुभयो । चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ आठ लाख मात्रामध्ये चार लाख मात्रा पहिलो चरणमा दिइने छ । यसअघि पहिलो मात्रा एक लाख २३ हजारलाई प्रदान गरिएको थियो ।

Facebook Comments Box