पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २७ असार – देशभर मनसुनी वायु सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
आज दिउँसो वाग्मती, गण्डकी र सुदूरपश्चिमका पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा पर्ने छ। उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ। आज राति पनि कोशी, मधेस, वाग्मती र गण्डकीका पहाडी क्षेत्रहरूमा साधारणतया बदली रहनेछ भने मधेस, वाग्मती र गण्डकीका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
महाशाखाले बाढी, पहिरो र गेग्य्रान बहावको जोखिम बढ्न सक्ने भएकाले विशेषगरी सहरी तथा तराई क्षेत्रका जनता सतर्क रहन अनुरोध गरेको छ। ठूला तथा साना नदी–नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, जसले दैनिक जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले पूर्वतयारी गर्न सबै सरोकारवालाहरूलाई ध्यान दिन आग्रह गरिएको छ।

